सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

वृद्धितर्फ फर्कियो सेयर बजार, सबै समूहमा हरियाली

३४ अंकले बढ्यो, ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार

मंगलबार, असार ३१ २०८२
वृद्धितर्फ फर्कियो सेयर बजार, सबै समूहमा हरियाली

काठमाडौं- आइतबार वृद्धितर्फ लागेर सोमबार घटेको सेयर बजार आज मंगलबार पुन: बढेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिपछि लगानीकर्ता सकारात्मक देखिएर कारोबारमा सुधार भएको विश्लेषण भइरहँदा बजारमा तीन दिन उतारचढाव नै देखिएको छ। 

गएको साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा लगानीकर्ता केही सम्हालिएका छन्। 

यो साता पहिलो कारोबारमा आइतबार २९ अंकले बढेर २७६०.८१ बिन्दुमा पुगेको बजार सोमबार ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा झरेको थियो। मंगलबार ३४.४६ अंकले बढेर बजार २७६०.१८ बिन्दुमा पुगेको छ। २०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। ३९ कम्पनीको सेयर मूल्य घटेको छ।  

मंगलबार सबै समूह हरियाली बनेका छन्। आज बैंकिङ समूह १.१८ प्रतिशतले बढेको छ। विकास बैंक १.२२ प्रतिशत, फाइनान्स १.७९, हाइड्रोपावर १.७१ प्रतिशतले बढेको छ। यस्तै माइक्रोफाइनान्स १.२८ प्रतिशतले बढेको छ। 

गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले समेत बजारमैत्री विषयहरू समावेश गरेका कारण लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएको विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, असार ३१ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend