काठमाडौं- सरकारले क्यासिनोसम्बन्धी नियममा परिवर्तन गरेको छ। 'क्यासिनो नियमावली २०८२' जारी गर्दै यसअघिका विभिन्न बन्देजलाई खुकुलो बनाउँदै केही सर्त थप गरिएको छ।
क्यासिनो सञ्चालनका लागि आवश्यक चुक्ता पुँजी बढेको छ। ठूलो क्यासिनोको हकमा चुक्ता पुँजी २५ करोडबाट बढाएर ३० करोड रुपैयाँ बनाइएको छ। त्यस्तै सानो क्यासिनोका लागि १५ करोडबाट २० करोड रुपैयाँ बनाइएको छ।
हातले तास, चिप्स वा क्वाइनको वितरण गरी डिलर वा स्पिनरको सहयोगमा मेसिनलाई नै हातले घुमाएर खेलाइने खेल र आधुनिक मेसिन वा विद्युतीय उपकरणको माध्यमबाट खेलाइने दुबै खेललाई ठूलो क्यासिनोको परिभाषामा समावेश गरिएको छ। आधुनिक मेसिन वा विद्युतीय उपकरणको माध्यमबाट मात्र खेलाइने खेललाई भने सानो क्यासिनोको परिभाषामा राखिएको छ।
१० हजार रुपैयाँ तिरेर क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति लिएर चारतारे वा सोभन्दा माथिल्लोस्तरको होटल वा रिसोर्टमा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने छ। त्यसका लागि होटलले लिखित सहमति दिएको हुनु पर्नेछ।
सीमा क्षेत्रको दुरी बन्देजलाई खुकुलो बनाइएको छ। नियमावलीबाट दुरी बन्देजलाई हटाइएको छ तर यसमा निर्णयको अधिकार जिल्ला सुरक्षा समितिमा हुने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटर दुरीभित्र पनि क्यासिनो सञ्चालन गर्न पाइने भएको छ तर त्यसका लागि सर्त राखिएको छ।
पहिले अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था थियो। अब पाँच किलिमिटरको दुरीभित्र क्यासिनो सञ्चालनका लागि सुरक्षा योजनासहित अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्यांकन गरी प्रचलित कानूनबमोजिम जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनका लागि सिफारिस गरेको हुनुपर्ने छ।
यसैगरी क्यासिनोस्थलमा कम्तिमा २० जना तालिमप्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने विषय पनि नियमावलीमा राखिएको छ।
१८ वर्षभन्दा कम उमेरको सञ्चालक हुन नपाउने र एउटै होटल वा रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइनेसमेत निवमालीमा राखिएको छ।
एकै कम्पनीबाट एकभन्दा बढी ठाउँमा क्यासिनो सञ्चालन भएको भए २०८२ को असार मसान्तसम्ममा कुनै एक ठाउँको मात्रै सञ्चालन गर्ने गरी निवेदन दिनुपर्ने विषय पनि नियमावलीमा राखिएको छ।
क्यासिनो सञ्चालनस्थलमा ४० हर्स पावरको अग्नि नियन्त्रण प्रणाली व्यवस्था गर्नुपर्न विषयसमेत नियमावलीमा उल्लेख छ।
यसैगरी सीसीटीभी क्यामेराको फुटेज अभिलेख भण्डारण ६ महिनासम्मको हुनु पर्नेछ।
यसैगरी 'क्यासिनो नियमावली २०८२' अनुसार क्यासिनोको स्वामित्वमा कम्तीमा पाँचवटा चारपाङ्ग्रे सवारीसाधन रहेको र आवश्यकताअनुसार सवारीसाधन भाडामा लिन सक्ने गरी ट्राभल एजेन्सीसँग सम्झौतासमेत गरेको हुनुपर्ने छ।
क्यासिनो सञ्चालनको इजाजतका लागि ठूलो क्यासिनोको हकमा १५ लाख र सानो क्यासिनोको हकमा १० लाख रुपैयाँसहित निवेदन दिनु पर्ने छ।
क्यासिनो सञ्चालनको इजाजत नवीकरणका लागि वार्षिक ठूलाको हकमा १ करोड ५० लाख र सानाको हकमा ७५ लाख रुपैयाँ तोकिएको छ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट पाँच किलोमिटरको दुरीभित्र सञ्चालन भएका क्यासिनोले भने सर्त पूरा गर्न २०८३ को चैत २९ गतेसम्म समय पाउने भएका छन्।
यसैगरी नियमावलीमा ठूलो क्यासिनोले कम्तिमा पनि १ सय ५० जनालाई र सानो क्यासिनोले कम्तीमा पनि ५० नेपाली नागरिकलाई रोजगारी दिनुपर्ने विषय नियमावलीमा उल्लेख छ।