काठमाडौं- हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा अर्घाखाँचीमा १२१ मिलिमिटर, दूधकोसी जलाधार क्षेत्रअन्तर्गत रबुवा बजारमा १२६.४ मिलिमिटर, ओखलढुंगाको मानेभञ्ज्याङमा १०६ मिलिमिटर र ओखलढुंगामै अर्को स्थानमा १०३ मिलिमिटर वर्षा मापन भएको छ।
आज मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। साथै, उच्च–पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
यस्तै, कोशी र मधेश प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनी विभागले दिएको छ। मौसम विभागले सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ। रासस