काठमाडौं- आइतबार वृद्धितर्फ देखिएको सेयर बजार आज सोमबार भने ओरालो लागेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिपछि लगानीकर्ता सकारात्मक देखिएर कारोबारमा सुधार भएको विश्लेषण भइरहँदा वृद्धि एक दिन पनि टिकेन।
यो साता पहिलो कारोबारमा आइतबार २९ अंकले बढेर २७६०.८१ बिन्दुमा पुगेको बजार सोमबार ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा झरेको छ। ५० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको छ।
आइतबार ३.३७ प्रतिशतले बढेको बैंकिङ समूह आज सोमबार २.४६ प्रतिशतले घटेको छ। आइतबार माइक्रोफाइनान्स ३.५० प्रतिशतले बढेकोमा सोमबार १.२३ प्रतिशतले घटेको छ। सोमबार हाइड्रोपावर ०.१५ प्रतिशतले बढ्नुबाहेक अरु सबै समूह घटेको छ।
गएको साता समग्रमा २७.८४ अंकले बढेको सेयर बजार त्यसअघिको साता १०८.१९ अंकले बढेको थियो। सकारात्मक गतितर्फ लाग्ने संकेत गरिरहेको बजारमा उतारचढावकै अवस्था देखिएको छ।
गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्।