काठमाडौं- तेह्रथुम पावर कम्पनीको सेयर लागनीकर्ताले साताको अन्तिम दिन बिहीबार सबैभन्दा धेरै कमाए। खासगरी कम्पनीले विद्युत उत्पादन थाल्ने र नाफा कमाउने चर्चा चलेपछि सेयर मूल्य बढेको हो।
बिहीबार कम्पनीको प्रतिकित्ता ३८ रुपैयाँ बढेर ६२५ रुपैयाँमा कारोबार भएको छ। केही महिनाअगाडि मात्रै कम्पनीले आईपीओ जारी गरेको थियो। कम्पनीले दसैँअगाडि ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो।

बिहीबार कम्पनीको ३२ हजार ८ सय १४ कित्ता कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ६६३ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम २५४ रुपैयाँमा कारोबार भएको थियो। ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको बजार पुँजीकरण बिहीबार २५ करोड रुपैयाँ पुगेको छ।
कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसहरू हाल मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरूंगा खोला साना जलवद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ।