काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन्।
क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालिन र दीर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिइका हुन्। भोटेकोशी नदीले पुर्याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्नसमेत उनको निर्देशन छ।
अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुननिर्माणको योजना बनाउनु पर्ने मन्त्री दाहालकाे भनाइ छ।
नेपाल-चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउनेतर्फ जनशक्ति र श्रोत-साधन परिचालन गर्न उनले निर्देशन दिएका हुन्।
बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहाललेसुझाव दिएका छन्।
सो सडक बाहेक अन्य सडकहरुमा पनि ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण परिचालन गर्न उनले आग्रह गरेका छन्। सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्याएको क्षतिको अध्ययन र अन्य कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ।
गल्छी-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक आयोजनाबाट क्षति ग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो। बाढी र वर्षाको अवस्था हेरि सडक विभागको जनशक्तिले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालिन र दीर्घकालिन रुपमा गर्नु पर्ने कार्यका लागि योजना बनाउने बताइएकाे छ।
सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुननिर्माणका लागि विभागको टोलीले अन्य निकायहरुसँग समेत समन्वय गरी रहेको सडक विभागले जनाएको छ।