सिरहा- सिरहा नगरपालिका-६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग संघर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ। हालसालै निर्माण गरिएको आरसीसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ। बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन्।
झन्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ। वर्षौँको प्रतीक्षा र संघर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ।
मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रूपैयाँको बजेटमा करिब पाँचसय मिटर लामो सडक निर्माण भएको हो। वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गरेका थिए। यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ।
उनी भन्छन्, 'हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ। आज त्यो सपना साकार भएको छ। यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ।'
उनका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पर्थ्यो। अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ।
स्थानीय सोनु यादव भन्छन्, 'पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे। हामी आफै लाज मान्थ्यौँ पाहुना बोलाउन पनि। अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ। अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन्।'
वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ। झन्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन्। 'यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुपर्यो', उनले भने, 'हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ। अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ।'
पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसिसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ। उनले भने, 'गाउँघरका शाखा सडकमा आरसिसी ढलान उपयुक्त हुन्छ। यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ।'
उनका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रने गरेका छन्। यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ। यस्तो संरचना विशेषगरी पानीको सतह नहट्ने, हिलाम्मे वा उबडखाबड भूभागमा बढी प्रभावकारी हुन्छ।
अबको आशा : घर पनि पक्की बनाउने सपना
भुस्कुलियाका घर अझै पनि कच्ची छन्, तर सडकले विकासको ढोका खोलेको छ। अब यहाँका बासिन्दाको नयाँ सपना भनेको पक्की सडकसँगै पक्की घर निर्माण गर्नु हो। वडाध्यक्ष यादव भन्छन्, 'अब हाम्रो ध्यान बस्तीको समग्र विकासमा छ। शिक्षा, स्वास्थ्य र आवास सुधारमा पनि योजना बनाइरहेका छौँ।'
वर्षौँसम्म धुलो र हिलोसँग जुध्दै आएको यो कच्ची बस्तीले बाँसको टाटी, माटो र जस्ताले बनाइएका घरको विकल्प खोजिरहेको छ। वर्षायाममा हुने डुबानले हैरान छन् स्थानीय। ७२ वर्षीय वृद्ध लक्ष्मी साह भन्छिन्, 'पानी पर्यो भने घरभित्रै बाल्टिन राखेर हिलो बटुल्नुपर्थ्यो। अहिले त कम्तीमा बाहिर हिँड्न सजिलो छ। अबचाहिँ सरकारले केही सहायता गरोस्, हामी पनि घर बलियो बनाउन सकेको प्रयास गर्छौँ।'
आवास कार्यक्रमअन्तर्गत सहयोगको पहल गरिरहेको वडाध्यक्ष यादवको भनाइ छ। उनका अनुसार बस्तीमा सामुदायिक भवन, पिउने पानीको पहुँच र साना व्यावसायिक सीप विकासका योजना पनि क्रमशः अगाडि ल्याइँदै छन्। वास्तवमा, भुस्कुलियाको सडक केवल ढलानमात्र होइन, त्यो सपना, सम्भावना र सम्मानको बाटो हो। आज सडक पक्की भएको छ, भोलि घर पक्की हुने विश्वासमा बस्तीका मान्छे जीउन थालेका छन्। रासस