सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

images
सोमबार, असार २३ २०८२
images
images
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबीच सम्झौता भएको थियो। प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेको छ।

images
images

सुदूरपश्चिम- पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ।

images
images

व्यवस्थित एवं आकर्षक सहरको रुपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नति पूरा भएको छ।

images
images

सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ। यसै आयोजनाअन्तर्गत धनगढी उपमहागरपालिका-७ पटेला क्षेत्रमा एक अर्ब २५ करोड रूपैयाँ लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ।

images
images
images

धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको झलारीपिपलाडी र महेन्द्रनगर (भीमदत्तनगर) नगरपालिकामा पनि सडक स्तरोेन्नति, सार्वजनिक भवन निर्माण, ढलनिकास, फोहरमैला व्यवस्थापनलगायतका काम भइरहेका छन्।

संघीय सहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ। पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबीच सम्झौता भएको थियो। प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेको छ।

सहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ। सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ।

फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ। झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन्।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताए। सघन सहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नति भइरहेको छभने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ। पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ।

त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो सडक स्तरोन्नति पूरा भएको छ । मोहनापुलदेखि गेटा खण्डसम्म ‘६ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुल देखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नति पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।

'सडक स्तरोन्नति एवं निर्माण लागत एक अर्ब ७८ करोड रूपैयाँ रहेको छ', कार्यालयका इञ्जिनियर सन्तोष चन्दले भने, 'निर्माणाधीन मनोहरा खोला र मोहना नदीमाथि पुलका लागि बजेट अभाव भएको छ।'

सडकखण्डको बीच भागमा बनाइएको ‘मिडियन’मा फूलका बोटबिरुवा रोपिएको छ। सडकका दायाँबायाँ दुई मिटर चौडा ‘फुटपाथ’ निर्माण गरिएको छ। विसं २०७७ मा निर्माण सम्झौता भएको सडक कुल एक अर्ब ७६ करोड रूपैयाँको लागतमा निर्माण पूरा भएको हो। अयोजनाअन्तर्गत गेटा खण्डको मनहरा खोला र धनगढीको मोहना नदीमाथिको पुल निर्माणाधीन छ।

बिनायोजना सहरका रुपमा विकास हुँदै गएको धनगढीमा बर्सेनि ठूलो सङ्ख्यामा घर संरचना निर्माण भइरहेसँगै सामान्य वर्षा हुँदा जम्ने पानीको उचित निकासको व्यवस्था नहुँदा नगरवासीले डुबानको समस्या भोग्दै आएका छन्।

उपमहानगर क्षेत्रमा खुटिया नदी र मोहना नदीको कटानको समस्या छ। उपमहानगरपालिकाले एक वर्षदेखि सहरी क्षेत्रमा दैनिक जम्मा हुने फोहरमैलाको निजी क्षेत्रमार्फत व्यवस्थापन गरिरहेको छ। सहरी क्षेत्रमा विकास पूर्वाधार जुटिरहे पनि ग्रामीण क्षेत्रका कतिपय वडाका बासिन्दा अझै उचित सडक, स्वच्छ खानेपानीजस्ता आधारभूत सुविधाबाट वञ्चित छन्।

उपलब्ध साधनस्रोतबाट उपमहानगरपालिका कार्यालयमार्फत हुने गरेका कतिपय विकास निर्माणका काम शक्ति र पहुँचवालाको वडामा मात्रै केन्द्रित गर्ने गरिएकाले विकासको प्रतिफल पाउन नसकिएको गुनासो नगरवासीको छ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साविकको बेलादेवीपुर, फूलबारी र उर्मा गाविसका साथै गेटा गाविसका केही वडालाई समेत समेटेर उपमहानगरपालिका बनाइएको थियो। स्थानीयवासी यज्ञराज भट्टले सडक स्तरोन्नतिसँगै बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुप नै फेरिएको बताए। उनले भने, 'धनगढी अब पहिलेको जस्तो कुरूप एवं फोहोर सहर रहेन।'

धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन उपमहानगरपालिका कार्यालयले ‘हरियाली धनगढी अभियान’अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्दै आएको छ। रासस


प्रकाशित : सोमबार, असार २३ २०८२१८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend