काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा नेपालको अर्थतन्त्र ४.८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसँग तुलना गर्दा यो वृद्धिदर उल्लेखनीय मानिएको छ।
तथ्यांकअनुसार, विद्युत उत्पादन तथा वितरण, निर्माण, वित्तीय सेवा, खानी तथा खनिज उत्खननलगायतका क्षेत्रमा उच्च वृद्धि देखिएको छ। कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये सबै क्षेत्रमा सकारात्मक वृद्धि देखिएको कार्यालयले जनाएको छ।
सबैभन्दा बढी १२.५ प्रतिशत वृद्धिदर विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा देखिएको छ। निर्माण क्षेत्रमा ६.९ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रमा ६.७ प्रतिशत र खानी तथा खनिज उत्खनन क्षेत्रमा ६.७ प्रतिशत वृद्धिको प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी, सूचना तथा सञ्चार (६.६ प्रतिशत), यातायात तथा भण्डारण (६.३ प्रतिशत) र औद्योगिक उत्पादन (६.२ प्रतिशत) क्षेत्रले पनि उल्लेख्य योगदान दिएका छन्।
कृषि क्षेत्रको वृद्धिदर ३.६ प्रतिशत रहेको छ। हिउँदे बाली, तरकारी तथा नगदेबालीको उत्पादनमा भएको सुधारले कृषि क्षेत्रलाई टेवा पुगेको हो। नेपालजस्तो कृषि प्रधान देशका लागि यो वृद्धिदर सन्तोषजनक मानिएको छ।
वाणिज्य क्षेत्रमा ५.६ प्रतिशतको वृद्धि देखिएको छ। प्रमुख व्यापारिक वस्तुहरूको आयातमा वृद्धि र स्वदेशी उत्पादनको सुधारले व्यापार क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताइएको छ। उत्पादनमूलक उद्योगले पनि ६.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ।
तर, केही सेवा क्षेत्रहरु शिक्षा (२.३प्रतिशत), पानी आपूर्ति तथा फोहोर व्यवस्थापन (२.४ प्रतिशत) र आवास तथा भोजन सेवा (२.५ प्रतिशत) न्यून वृद्धि देखिएको छ।
मौसमी प्रभाव समायोजित वृद्धिदर झिनो
मौसमी प्रभाव समायोजित तथ्यांकअनुसार भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा ०.६ प्रतिशत मात्रै वृद्धि देखिएको छ। विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा ५.५ प्रतिशतको उल्लेख्य वृद्धिका बाबजुद यातायात तथा भण्डारण, वित्तीय तथा बीमा तथा आवास तथा भोजन क्षेत्रमा ऋणात्मक वृद्धि देखिँदा समग्र वृद्धिदर न्यून देखिएको हो।
विशेषगरी, यातायात तथा भण्डारण क्षेत्रमा -३.३ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रमा -१.६ प्रतिशत, र आवास तथा भोजन क्षेत्रमा -०.८ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ।
अर्थशास्त्रीहरूका अनुसार, तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रमा देखिएको ४.८ प्रतिशतको वृद्धिदर आशाजनक हो। तर मौसमी समायोजनपश्चात देखिएको ०.६ प्रतिशत वृद्धिदरले सुधारको गति अझै सुस्त रहेको संकेत गर्छ।