काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले कृषकले मल नपाएको, दूधको रकम भुक्तानी हुन नसकेको, सडक, विपद् व्यवस्थापन तयारीदेखि संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसद अच्युतप्रसाद मैनालीले विगत ६ महिनादेखि दुग्ध विकास संस्थान र निजी डेरीबाट किसानले पाउनुपर्ने करिब पाँच अर्ब रूपैयाँ भुक्तानी नपाइरहेको भन्दै तत्काल रकम उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले पशुपालन किसानले पाउने सहुलियतपूर्ण कर्जा, पशु बीमा आदिलाई ‘डिजिटल’ प्रणालीमार्फत गर्न माग गरे।
सांसद अनिता देवीले धनुषाको बटेश्वरमा स्थानीयले आँपको प्रवर्द्धन, बजारीकरण, आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न उद्देश्यले आँप बगैँचामा आयोजना गरेको आँप मेलाको प्रवर्द्धनका साथै आँपखेतीप्रति आकर्षण, दीर्घकालीन भण्डारण र बजारीकरणको प्रबन्ध गरिदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद अमनलाल मोदीले राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयकमा कुलिङ पिरियडमा भएको घटनालाई मध्यनजर गर्दै राज्यका अन्य नीति तथा विधेयकहरूमा पनि तलमाथि हुनसक्ने विषयलाई ख्याल गर्दै छानबिन समिति गठन गरिनुपर्ने माग गरे।
सांसद अम्मरबहादुर थापाले बागमती सफाइ अभियानले सफाइ गरेकोगरै भए पनि बागमती ढलमतीमा ढल बगिरहेकातर्फ ध्यानाकर्षण गराउँदै बागमती सफाइ अभियान प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद अम्बरबहादुर रायमाझीले सिन्धुलीको भिमानदेखि उदयपुरको बसाहसम्म झन्डै १३७ किमी सडकमा सवारी दुर्घटना बढेको, सडक साँघुरो र ट्राफिक व्यवस्थापन फितलो रहेका कारण यात्रा त्रासदायी र असुरक्षित रहेको भन्दै उक्त सडकमा आवश्यक सुरक्षाको व्यवस्था गर्न माग गरे।
सांसद डा अमरेशकुमार सिंहले दक्षिणतर्फका सीमानाकामा पर्यटकमाथि अभद्र व्यवहार हुने गरेको भन्दै नाकामा पर्यटक प्रहरीको व्यवस्था गरी पर्यटकमैत्री सेवा प्रदानको सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद अमृतादेवी अग्रहरिले किसानलाई समयमा नै मलखादको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद ईश्वरबहादुर रिजालले २०७८ सालको असार र साउन महिनामा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा गएको बाढीले २४ जनाको ज्यान गएको र २४ जनाको घर क्षति बनाएको तथा अहिले पनि पुनः निर्माणको काम नसकिएको भन्दै यथाशीघ्र सम्बोधन गर्न तथा हेलम्बुको चनौटेमा २०० मिटर बाँध बाँधेर स्थानीय बस्ती सुरक्षित गर्न माग गरे।
सांसद ईश्वरी घर्तीले देश संघीयतामा प्रवेश गरेको करिब १० वर्ष पुग्न लागे पनि मालपोत, नापी, नागरिकता, लाइसेन्स, राष्ट्रिय परिचयपत्र आदि नागरिकको सेवालाई जनताले सहजैरुपमा पाउन नसकेको भन्दै पायक पर्ने स्थानबाट ती सेवा पाउने व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद उर्मिला माझीले देशभर बढ्दो बाढी र पहिरोको जोखिमतर्फ सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापन, अस्थायी बसोबास आदिको भरपर्दो प्रबन्ध गर्न सरकारसमक्ष माग गरिन्।
सांसद एकनाथ ढकालले हाल कूटनीतिक सम्बन्ध भएका मुलुकको सङ्ख्या १८२ रहेको र बाँकी ११ राष्ट्रहरूसँग पनि कूटनीतिक सम्बन्ध स्थापित गरी संयुक्त राष्ट्रसंघको १९३ वटै सदस्य राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद कान्तिका सेजुवालले नेपाल औषधि व्यवस्था लिमिटेडको उत्पादिन औषधिको बजारीकराणको व्यवस्था गर्न तथा त्रिविअन्तर्गतका छात्रावास खानपिनको राम्रो प्रबन्ध गर्न र सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिन्।
सांसद कालुराम राईले मोरङको कानेपोखरी, बेलबारी वन क्षेत्रमा पाइने विश्व वन्यजन्तु संरक्षणको लोपोन्मुख सूचीमा परेको ‘कालो नरम खबटे’ कछुवा संरक्षणका लागि सरकारसमक्ष माग गरे।
सांसद किरणकुमार साहले मोहम्मद आफ्ताव आलमलाई उच्च अदालत जनकपुरको कार्यालय वीरगञ्जले सफाइ दिएको घटना विवादित बनेको भन्दै उक्त आदेश दिन न्यायाधीशलाई महाअभियोग प्रक्रिया अगाडि बढाउन माग गरे।
सांसद गोकुलप्रसाद बास्कोटाले बनेपाको पुन्यमाता करिडोरको एक पुल बगाएको र अहिले वैकल्पिक बाटो अवरोध भएको भन्दै उक्त सडकमा पाँच लाख रूपैयाँमात्र बजेट विनियोजन भएको भन्दै तत्काल बजेट प्रबन्ध गरी सडक मर्मत गर्न माग गरे। साथै उनले किसानलाई तत्काल मलको प्रबन्ध गर्न सरकारसमक्ष माग गरे।
सांसद डा चन्द्रकान्त भण्डारीले एसईई पास गरेका विद्यार्थी नर्सिङ र प्यारामेडिकल पढ्नबाट वञ्चित भइरहेको भन्दै नेपालमा नै अध्ययनको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद छिरिङल्हामु लामा (तामाङ) ले दैलेखमा पत्ता लागेको मिथेन ग्यासको उत्खननका लागि सरकारसमक्ष माग गरिन्। सांसद जनार्दन शर्माले ‘डाक्टरहरू अस्पतालमा छैनन् बिरामी समस्यामा छन्’, न्यायालयमा हेरफेर, कानूनमा तलमाथि हुने तथा न्यायपरिषद्को सिफारिस विभेद भइरहेको भन्दै यसप्रतिको जवाफदेही हुने भनी प्रश्न गरे।
सांसद अर्जुननरसिंह केसीले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत्तिले पारित विधेयकमा फेरबदल हुनु संसद्को अपमान र असक्षमता हो भन्दै यसको वास्ताविकता छानबिन गरी सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद छिरिङडाम्डुल लामाले हुम्लामा बेलिब्रिज पुल उद्घाटन भएको र यसले हुम्लाको विकासको ढोका खोलेको भन्दै हुम्लीको विकासमा ध्यान दिएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे। रासस