काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहका ‘अमेरिका विरोधी नीति’ अपनाउने देशहरूलाई १० प्रतिशत अतिरिक्त भन्सार कर लगाउने चेतावनी दिएका छन्। ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ब्रिक्स बैठकका सन्दर्भमा ट्रम्पले यो घोषणा गरेको सीएनबीसी न्युजले जनाएको छ।
ट्रम्पले आफूले संकेत गरेका ‘अमेरिका विरोधी नीति’ के हुन् भन्नेबारे विस्तृत जानकारी भने दिएका छैनन्। तर ब्रिक्स नेताहरूले आइतबार जारी गरेको संयुक्त वक्तव्यमा ‘अन्यायपूर्ण एकपक्षीय संरक्षणवादी उपायहरू’ र ‘मनपरी भन्सार वृद्धिलाई’ अस्वीकार्य भनेका थिए। उनीहरूले कुनै देशको नाम उल्लेख नगरे पनि अमेरिकी संरक्षणवादी व्यापार नीतिलाई लक्षित गरी टिप्पणी गरेको ठानिएको छ।
वक्तव्यमा भनिएको छ, 'विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का नियमहरूसँग असंगत एकपक्षीय भन्सार तथा गैरभन्सार उपायहरूले विश्व व्यापारलाई विकृत गरिरहेको र आर्थिक असमानतालाई थप गहिरो बनाइरहेको गम्भीर चिन्ता व्यक्त गर्छौं।'
यसको जवाफमा ट्रम्पले लेखेका छन्, 'जो कोही देशले ब्रिक्सका अमेरिकाविरोधी नीतिहरूसँग सहमति जनाउँछ, उसलाई १० प्रतिशत अतिरिक्त भन्सार कर लाग्नेछ। यसमा कुनै अपवाद हुने छैन।'
ट्रम्पको घोषणा कुन सन्दर्भमा आयो?
पूर्वअमेरिकी व्यापार वार्ताका वरिष्ठ विश्लेषक स्टिफन ओल्सनका अनुसार ट्रम्प ब्रिक्स नेताहरूको उक्त संयुक्त वक्तव्यबाट उक्सिएको हुन सक्छन्।
'ब्रिक्स सदस्य राष्ट्रहरू वित्तीय तथा वैश्विक शासनमा अमेरिकी नेतृत्वको विकल्प खोज्ने चाहनालाई ट्रम्पले ‘अमेरिका विरोधी नीति’ का रूपमा व्याख्या गरेका हुन सक्छन्,' ओल्सनले बताए, 'तर कुन मापदण्डअनुसार यो तय गरिने हो भन्ने अहिले स्पष्ट छैन।'
ब्रिक्स अहिले ११ सदस्यीय समूह हो। ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, साउदी अरेबिया, इजिप्ट, यूएई, इथियोपिया, इन्डोनेसिया र इरान। यो समूहले आफूलाई ग्लोबल साउथको साझा राजनीतिक तथा कुटनीतिक मञ्चका रूपमा परिचित गराउँदै आएको छ।
ब्रिक्सको उद्देश्य सदस्य राष्ट्रबीच आर्थिक, राजनीतिक र सामाजिक समन्वय विस्तार गर्नु हो। साथसाथै यस समूहले पश्चिमप्रभावित अन्तर्राष्ट्रिय संस्थाहरूको विकल्प खडा गर्दै अमेरिकी डलरको एकाधिकार तोड्ने प्रयास गरिरहेको छ।
यसपटकको बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको सट्टामा प्रधानमन्त्री ली क्याङ सहभागी छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय अपराध अदालतको गिरफ्तारी वारेन्टका कारण भर्चुअल माध्यमबाट सहभागी भएका छन्।
ब्रिक्सले हालै इरानमाथि भएका सैन्य आक्रमणको भर्त्सना गर्दै एक संयुक्त वक्तव्य पनि जारी गरेको छ, जसमा आक्रमणकारीको नाम उल्लेख नगरिए पनि इजरायल र अमेरिका लक्षित भएको अनुमान गरिएको छ।
ट्रम्प प्रशासनले यसअघि अप्रिलमा घोषणा गरेका उच्च भन्सार दरहरू अगस्ट १ देखि लागु हुने बताएको छ। तर ती देशहरू जसले अमेरिकासँग सम्झौता गरेका छैनन्, तिनका लागि कर लागु हुनेछ। अमेरिकी वित्तमन्त्रीका अनुसार सोमबारदेखि नै देशअनुसार भन्सार दरको जानकारीसहित पत्राचार सुरु गरिनेछ।