काठमाडौं- बर्खा लागेसँगै सडक यात्रालाई सहज बनाउन सडक विभागले पूर्वतयारीलाई तीव्रता दिएको छ। गत वर्षकाे बाढीले राजमार्ग अवरुद्ध हुनुका साथै सडकको दुरावस्थाकै कारण सयौँले ज्यान गुमाएपछि यो वर्षको बर्खामा विभाग बढी चनाखो बनेको हो।
सडक अवरुद्ध भएको एक घण्टाभित्र मेसिन पुग्ने र चार घण्टामा सवारी चलाउने गरी मन्त्रालय र विभागले व्यवस्थापन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमकार शर्मा बताउँछन्।
विगतका वर्षमा पनि सडक मर्मतका उपकरण प्रयोग नगरिएको होइन तर गत वर्षको भन्दा याे वर्ष संख्या बढाएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए।
विभागले पूर्वको इलामदेखि पश्चिमको बैताडीसम्म आठवटा हेभी इक्विपमेन्ट कार्यालयहरुबाट विभिन्न राष्ट्रिय राजमार्गका २२७ ठाउँमा इक्विपमेन्टहरु राखेर अवरुद्ध सडक खुलाउने तयारी गरेको छ।
गत वर्षको बाढीले मुख्य राजमार्गहरु क्षति गरेका कारण यो वर्ष सडक अवरुद्ध धेरै ठाउँमा हुने आँकलन विभागको छ। जसले गर्दा सडक विभागका इक्विपमेन्ट मात्रै अपुग हुन सक्ने भन्दै निर्माण कम्पनीहरुसँग पनि आवश्यक परेका साधन भाडामा लिएर सडक सञ्चालन गर्ने योजना रहेको प्रवक्ता झा बताउँछन्।
उनका अनुसार इटहरी डिभिजन कार्यालयमा ४२, जनकपुर डिभिजन कार्यालयमा ३३, हेटौंडा डिभिजन कार्यालयमा २५, काठमाडौं डिभिजन कार्यालयमा ५३ वटा साना ठूला इक्विपमेन्ट राखिएको छ।
त्यस्तै पोखरा डिभिजन कार्यालयमा ३५, बुटवल डिभिजन कार्यालयमा २४, नेपालगञ्ज डिभिजन कार्यालयमा ३३ र गोदावरी (कैलाली) डिभिजन कार्यालयमा ३२ वटा इक्विपमेन्ट छन्। ती सबै इक्विपमेन्ट आवश्यकताअनुसार नजिकको अवरुद्ध सडक खुलाउन प्रयोग गरिने विभागले जनाएको छ।
‘हरेक वर्ष उपकरणको संख्या बढ्छ, गत वर्ष बढी राजमार्गहरु क्षति भएकाले यो वर्ष झन तयारी बढाएका छौँ’ प्रवक्त झा भन्छन्, ‘विभागका इक्विपमेन्टले नपुगेको अवस्थामा नजिकै जसको पाइन्छ उनीहरुसँग भाडामा लिएर भएपनि सडकमा काम हुन्छ।’ उनका अनुसार २२७ वटा इक्विपमेन्टमध्ये ५४ वटा तयारी अवस्थामा राखिएको छ। त्यस्ता उपकरण सबैभन्दा धेरै प्रयोग गर्नुपर्ने हुन्छ।
त्यस्तै १३४ वटा आवश्यकताअनुसार प्रयोग गर्ने गरी तयार छन्। स्पेसल इक्विपमेन्टहरुमा डोजर ट्रक, ह्वील लोडर, ब्याकहोल लोडर, एस्काभेटर ट्रक, एस्काभेटर ह्वील छन्। यी उपकरणहरु अरुको तुलनामा बढी प्रयोग गर्नुपर्ने हुन्छ। बर्खाले अवरुद्ध सडक खोल्नका लागि १२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको उनले बताए।
उक्त रकम सवारीमा तेल हाल्न र सडकमा परिचालन हुने खर्चको लागि मात्रै हो। तर बर्खामा सडक मर्मतका लागि थप बजेट आवश्यक परे अभाव नहुने दाबी प्रवक्ता झाले गरे। ‘त्यो पैसा थोरै भन्न मिल्दैन, हाम्रा कर्मचारी, मजदूरहरु परिचलन गर्छौँ बाँकी तेल खर्च छुट्टै हुने हो’ उनी भन्छन्, ‘तर अपुग भएमा फेरि बजेट व्यवस्थापन गर्न समस्या छैन।’
यो बर्खामा बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गको दाउन्ने क्षेत्र, कोशी राजमार्गमा बढी अवरुद्ध हुने सम्भावना भएकाले इक्विपमेन्टहरु पनि त्यतै केन्द्रित गरिएको विभागले जनाएको छ।
१५ बेलिब्रिज स्टक
सडक विभागअन्तर्गतको पुल माहाशाखाले १५ वटा बेलिब्रिज स्टक रहेको जनाएको छ। माहाशाखा प्रमुख ललिजन खनालका अनुसार ५० मिटर लम्बाइका १५ वटा बेलिब्रिज स्टक राखिएको छ। राष्ट्रिय राजमार्गमा मोटोरेबल पुल बाढीले बगाए, भाँचिए वा अन्य राजमार्गमा अत्यावश्यक परेको समय ती बेलिब्रिजहरु प्रयोग गरिन्छ।
‘यो बर्खाअघि थप पुल ल्याउन सम्भव छैन किनकि खरिद प्रक्रियामै दुई/तीन महिना समय जान्छ’ माहाशाखा प्रमुख खनाल भन्छन्, ‘कतिवटा पुल कति लम्बाइका ल्याउने भनेर महानिर्देशकसँग छलफल गर्न बाँकी छ। तर आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म केही बेलिब्रिज थप्छौँ।’
कुन ठाउँमा कुन-कुन उपकरण छन्?