काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे।
उनले भने, 'टीआईएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ।'
पर्यटनमन्त्री पाण्डेले टीआईए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे। 'अरु देशको तुलनामा टीआईए साँघुरो छ, टर्मिनललगायत भौतिक पूर्वाधार पर्याप्त छैनन्, ‘स्पेस’को सीमितताले विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले यात्रुहरु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको छ, अरु देशका यात्रु विमानबाट ओर्लिएर टर्मिनल आइपुग्न निकै समय लाग्छ, यसले गर्दा धेरै समय कुर्नुपरे जस्तो देखिन्छ', उनले भने।
पर्यटनमन्त्री पाण्डेले टीआईएको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झन्डै दोबर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताए।
मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने विश्वास व्यक्त गरे।
समितिले आजको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरेको हो। विधेयकउपर संशोधनकर्ताले मुलुकको हवाई सुरक्षालाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन कानून बलियो बनाइनुपर्नेमा जोड दिए।
सांसदहरु भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रकाश ज्वालाले विधेयकलाई समृद्ध बनाएर हवाई सेवालाई सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याए। सांसद रोशन कार्कीले विधेयक अत्यन्त आवश्यक र समय सान्दर्भिक रहेकाले चाँडो टुङ्ग्याइनुपर्नेमा जोड दिए।
सांसद प्रेम सुवालले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधार गर्न र सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराए।
सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित, सुलभ, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद शिशिर खनालले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै भिसा प्रक्रिया सहजीकरणका लागि पर्यटनमन्त्रीसमक्ष माग गरे।
सांसद प्रभु साह, डा अमरेशकुमार सिंहलगायतले विधेयकमा समेट्नुपर्ने विषयबारे समितिलाई ध्यानाकर्षण गराए। रासस