आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

कपुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

images
आइतबार, असार २२ २०८२
images
images
कपुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ।

images
images

गण्डकी- कास्कीको मादी गाउँपालिका-१ स्थित कपुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ।

images
images

मादमे खोला जलविद्युत् आयोजनाको ३० लाख रूपैयाँको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो।

images
images

पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी-१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजंग गुरुङले जानकारी दिए। उनका अनुसार आयोजनाबाट रु १० लाख प्राप्त भई काम भइसकेको छ भने २० लाख रूपैयाँ लागतको काम भइरहेको छ।

images
images
images

पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गरे।

कपुचे-कोरी पदमार्ग आफैमा विशिष्ट प्रकृतिको छ। कपुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कपुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले जानकारी दिए।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ। कुल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कपुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गरे।

आँखैअगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो। कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भू-भाग भन्ने बुझिने जानकारी दिए।

क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचेको रूपमा लिने गरिएको स्थानीयवासी बताउँछन्। बजारबाट नजिकको हिमताल कपुचेको शान्त वातावरणसँगै बर्सातका समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन्।

यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखैअगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ।

पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ। 

यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जंगल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी कृष्ण गुरुङले जानकारी दिए।

यस जाने मार्गमा रहेको पाखामा गुराँसैगुराँसको जंगल छ। वसन्तयाममा यहाँ रंगिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो। नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो। हाल चारवटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उनले बताए।

हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन्।

पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताए। भइरहेको स्तरोन्नतिसँगै यो पदमार्ग यहाँ आउने पर्यटकका लागि अझै सहज हुने उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असार २२ २०८२१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend