सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ असार २९ देखि

आइतबार, असार २२ २०८२
बुङ्गल हाइड्रोको पहिलो चरणको आईपीओ असार २९ देखि

यसबाहेक कम्पनीले २ लाख ७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने तयारी गरेको छ।

काठमाडौं- बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले ८३ करोड रुपैयाँको जारी पुँजीको ३५ प्रतिशतले हुने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि खुला गर्न लागेको छ। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित बुङ्गल नगरपालिका-६ का साबिक पिपलकोटा र कफल्सेरी गाविसका केही वडालाई अति प्रभावित क्षेत्र मानेर ६५ प्रतिशत सेयर छुट्याइएको छ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका वडालाई लक्षित गरी वितरण गरिनेछ।

यसबाहेक कम्पनीले २ लाख ७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने तयारी गरेको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयका लागि साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ भने मागअनुसार आवेदन नपरेमा साउन २६ गतेसम्म म्याद लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंकलगायत आयोजनास्थित बैंकमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले बझाङ जिल्लामा १०.७ मेगावाट क्षमताको माथिल्लो सानीगाड जलविद्युत आयोजना निर्माण गरी २०८० साल भदौ २ गतेदेखि उत्पादन सुरु गरिसकेको छ। आयोजनाको कुल लागत ३ अर्ब २ करोड रूपैयाँभन्दा बढी रहेको छ।


प्रकाशित : आइतबार, असार २२ २०८२११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend