शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

पोखाराका चौतारोमा जनै बनाउने सीप

images
शनिबार, असार २१ २०८२
images
images
पोखाराका चौतारोमा जनै बनाउने सीप

नियम पुर्‍याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उनको भनाइ छ।

images
images

गण्डकी- यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ। जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नम्बर ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ।

images
images

जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुन्छन्।

images
images

नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ।उनीहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नम्बार ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो।

images
images
images

चौतारामा जनै बनाउन व्यस्त देखिने उनीहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरेका छन्। सिक्न र जान्न चाहने जो कोहीलाई आफूले सकेसम्म बुझाएर सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताए।

राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उनको भनाइ छ। आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पुर्‍याउने उनीहरूकाे लक्ष्य छ। अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन।

जनै बनाउनका लागि सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ। सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उनले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिए। यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा पार्ने गरिन्छ।

शिखालाई ‘ब्रम्ह ग्रन्थी’ भन्ने गरिन्छ। जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने उनकाे भनाइ छ। जनै लगाइसकेपछि नियमपूर्वक बनाएर संस्कार गरिएका मात्रै लगाउनुपर्ने बताउँदै उनले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको उल्लेख गरे।

‘मेरो ९ वर्षको उमेरमा ब्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु’, उउनी भन्छन्, ‘सुरुमा बुबाबाट सिकेको जनै बनाउने सीप १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु।’ आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उनले बताए।

अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताउँछन्। नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उनले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुभव सुनाए।

नियम पुर्‍याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उनको भनाइ छ। पछिल्ला पुस्तामा जनै बनाउने सीपको पुस्तान्तरण हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे।

६७ वर्षीय कृष्णराज अधिकारी आमासँग सानो उमेरमा किला गाडेर जनै बनाएका धेरै अनुुभव रहेको सुनाउँछन्। जनै लगाउनेले बाटेर बनाइएका जनै नै लगाउनु उपयुक्त हुने उनको सुझाव छ। हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्दै यसको पुस्तान्तरण आवश्यक रहेको उनले बताए।

संस्कार र संस्कृतिलाई भावी पुुस्तासम्म पुस्तान्तरण गर्दै जानसकेमा हाम्रा सांस्कृतिक रीतिरिवाज र परम्पराको जगेर्ना हुने गुरुप्रसाद पौडेलको भनाइ छ। नियमपूर्वक बनाएर विधिपूर्वक संस्कार गरिएका जनैको आफैँमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई सीप सिकाउँदै सकेसम्म नियमपूर्वक बाटिएका जनै लगाउन अभिप्रेरित गर्नुपर्ने धारणा राखे। रासस


प्रकाशित : शनिबार, असार २१ २०८२१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend