शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

मनभागा गाउँका स्थानीयलाई अब छैन खानेपानीको पिरलो

images
शुक्रबार, असार २० २०८२
images
images
मनभागा गाउँका स्थानीयलाई अब छैन खानेपानीको पिरलो

यहाँका स्थानीयलाई खानेपानी मात्र नभइ घरायसी प्रयोजनका लागि पनि पानीको उत्तिकै दुःख थियो। घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ।

images
images

पाल्पा- एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पिरलो छैन। घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ।

images
images

रामपुर नगरपालिका-१० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ। वर्षौँदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए। अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन्।

images
images

यहाँका स्थानीयलाई खानेपानी मात्र नभइ घरायसी प्रयोजनका लागि पनि पानीको उत्तिकै दुःख थियो। गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो। रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको छ।

images
images
images

नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर १७ लाख ५० हजार रकम र स्थानीय उपभोक्ताको चार लाख २१ हजार ६ सय रूपैयाँ सहयोगमा खानेपानी योजना सम्पन्न भइ सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा आठ लाख, २०७५/७६ मा पाँच लाख, २०७८/७९ मा एक लाख ५० हजार र ७९/८० मा तीन लाख गरी कुल १७ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको हो। सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन्।

समितिका अध्यक्ष दिलबहादुर सिञ्जालीले २२ हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए। मनभागामा टोकलोक डिबाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिञ्जाली बताउँछन्।

खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठूलो परिवर्तन ल्याइदिएको स्थानीय अमिता थापाले बताइन्। 'पानी खोज्नका लागि सबेरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपर्थ्यो, पानी खोज्नमै समय धेरै बिताउनुपर्थ्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुपर्‍यो, योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भयो,' उनले खुसी हुँदै भनिन्।

घरको धारामा चौबिसैँ घण्टा पानी आइरहँदा स्थानीयको वर्षौँदेखिको सपना पूरा भएको छ। नगरकै विकट र दुर्गममा रहेको हुँदा कष्टका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए।

गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको नगरप्रमुख रमणबहादुर थापाले बताए। खानेपानी योजनाका लागि नगरप्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्‍याइएको हो।

'विक्रम संवत् २०७४ को स्थानीय तहको निर्वाचनको प्रचार-प्रसारका लागि गाउँमा जाने क्रममा खानेपानीको अभाव दयनीय देखेँ, निर्वाचन जिते पनि हारे पनि खानेपानी ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिएँ,' नगरप्रमुख थापाले भने, 'निर्वाचन सकिएपश्चात् योजनाको काम सुरु भयो, योजना सम्पन्न गरेर पानी खुवाउन पाउँदा खुसी लागेको छ।'

नगरवासीको आवश्यकता पूरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाबीच समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनी बताउँछन्। जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताका आधारमा काम गर्दै आएको नगरप्रमुख थापाको भनाइ छ।

नगरप्रमुख थापाको रामपुर नगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व हो। गाउँमा पहिला बस्ती ठूलो रहे पनि पछिल्लो समय बसाइँसराइले गर्दा बस्ती पातलो हुँदै गएको छ। पहिलो समय यहाँ ३६ घरपरिवारको बसोबास रहेको थियो। रासस


प्रकाशित : शुक्रबार, असार २० २०८२१५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend