सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

भएकै औद्योगिक क्षेत्रको उपयोगिता खस्किँदै, नयाँ क्षेत्र घोषणा गरेर रमाउँदै सरकार

आइतबार, असार २२ २०८२
भएकै औद्योगिक क्षेत्रको उपयोगिता खस्किँदै, नयाँ क्षेत्र घोषणा गरेर रमाउँदै सरकार

संसारका कयौं देशले यस्ता औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रबाट लाभ लिएका छन् तर नेपाल भने अफ्रिकी मार्गतिर लाग्ने जोखिम देखिएको छ।

काठमाडौं- उत्पादनमूलक उद्योग स्थापनाका लागि उद्योगीहरूलाई ठाउँ ठेगाना खोज्न समस्या नहोस् भनेर सरकारी अग्रसरतामा वर्षौँदेखि सञ्चालनमा रहेका औद्योगिक क्षेत्रको उपयोगितामा सुधार हुन सकिरहेको छैन। 

हाल सञ्चालनमै रहेका १० वटा औद्योगिक क्षेत्रमा उद्योगको संख्या घटिरहेको छ भने लिजमा जाने जग्गामा पनि कमी आइरहेको छ। भएका उद्योगहरू कि बन्द भएका छन् कि उत्पादन क्षमतामा कटौती गरेका छन्। 

पछिल्लो सात वर्षदेखि यी क्षेत्रमा कुनै पनि सकारात्मक परिवर्तन खासै देखिएको छैन। 

सरकारी तथ्यांकअनुसार हाल १० वटा क्षेत्रमा ६९८ वटा उद्योग रहेका छन्। यी उद्योगले कुल ४ हजार १ सय ८७ रोपनी जग्गा भाडामा लिएका छन्। जुन सात वर्षअघिको तुलनामा घटेको छ। २०७६ सालमा यी क्षेत्रमा ७ सय उद्योग थिए भने यी उद्योगले ५ हजार ५ सय ५ रोपनी जग्गा लिजमा लिएका थिए। अर्थात् पछिल्लो सात वर्षमा अझ खस्किएको छ।

उद्योगको संख्या त बढेन नै अझ त्यस्ता उद्योगले चर्चिएको जग्गा कटौती गरिरहेका छन्। कुल उद्योगमा सञ्चालनमा रहेका उद्योगको सख्या झन न्यून छ। हाल ६३४ उद्योग सञ्चालनमा छन् भने २०७६ सालमा ६३७ उद्योग सञ्चालनमा थिए। 

नेपालकै पहिलो औद्योगिक क्षेत्र २०१६ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापना भएको थियो। अमेरिकी सरकारको सहयोगमा यो औद्योगिक क्षेत्र खुलेपछि बाँकी  विदेशी सहयोगमै स्थापना भएका छन्। अमेरिकाले २ वटा, भारतले चारवटा र नेपाल सरकार आफैले ३ वटा क्षेत्र स्थापना गरेको हो। 

यी औद्योगिक क्षेत्रबाहेक पनि २०७६ सालमा नेपाल सरकारले ६ वटा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। त्यसपछि २०७८ मा एउटा थपिएर अहिले सात वटा निर्माणाधीन छन्। 

उद्योग स्थापनाका लागि वातावरणीय नियमनदेखि जग्गा जमिन खोज्न पनि झन्झटमात्र होइन अरु सयौँ समस्या हुने भएकाले उद्योगका लागि एकीकृत व्यवस्थापनसहित यस्ता क्षेत्र स्थापनाको मोडल आएको हो। तर नेपालमा यी क्षेत्रको सञ्चालन सफलताभन्दा असफलतातिर उन्मुख भएको छ। 

यी औद्योगिक क्षेत्रबाट भएन भनेर सरकारले ल्याएको विशेष आर्थिक क्षेत्र पनि सफल हुन सकिरहेको छैन। वर्षौँको समय र अर्बौँ लगानीमा खुलेका यस्ता क्षेत्र उद्योग नपाएर थन्किएका छन्। भैरहवा र सिमरामा रहेका सेजको क्षमता उपयोग हुन सकिरहेको छैन। 

संसारका सयौँ देशले यस्ता औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रबाट लाभ लिएका छन् तर नेपाल भने अफ्रिकी मार्गतिर लाग्ने जोखिम देखिएको छ।


प्रकाशित : आइतबार, असार २२ २०८२११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend