बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

धेरै लोड बोक्ने ट्रकलाई कारबाही गर्न विभागको परिपत्र, कानूनविपरीत सिनो ट्रकले बिक्री गर्छ ६५ टनको ट्रक

images
बुधबार, असार १८ २०८२
images
images
धेरै लोड बोक्ने ट्रकलाई कारबाही गर्न विभागको परिपत्र, कानूनविपरीत सिनो ट्रकले बिक्री गर्छ ६५ टनको ट्रक

पछिल्ला दिनहरुमा मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भारवहन गरेका कारण पुल भत्किने, सडकको अवस्था बिग्रने तथा दुर्घटनाको दरसमेत बढेका कारण मालवाहक सवारीसाधनको कडाइका साथ अनुगमन गर्न विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।

images
images

काठमाडौं- यातायात व्यवस्था विभागले क्षमताभन्दा धेरै लोड बोक्ने मालवाहक सवारीसाधनलाई कारबाही गर्न परिपत्र गरेको छ। विभागले असार १२ गते सबै जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर धेरै भारवहन गर्ने मालवाहक सवारीलाई नियमन गर्न भनेको हो।

images
images

पछिल्ला दिनहरुमा मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भारवहन गरेका कारण पुल भत्किने, सडकको अवस्था बिग्रने तथा दुर्घटनाको दरसमेत बढेका कारण मालवाहक सवारीसाधनको कडाइका साथ अनुगमन गर्न विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो। उक्त पत्रको बोधार्थ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक व्यवसायी महासंघलाई दिएको छ।

images
images

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६ (३) अनुसार सवारी दर्ताको प्रमाणमत्रमा सवारीको कुल वजन (जीभीडब्लू/जीसीडब्लू), भारवहन क्षमता र भाररहित वजनसमेत छुट्टाछुट्टै रुपमा स्पष्ट हुनेगरी उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ।

images
images
images

मालवाहक सवारीको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधन) समेतमा सडकमा सञ्चालन हुने मालवाहक सवारीले कुल वजन (वहन गरेको भार) खुल्ने लोडसिट वा आधिकारिक प्रमाण साथमा लिएर सञ्चालन गर्नुपर्ने, सम्बन्धित निकायले सवारी अनुगमन गर्दा यस्तो प्रमाणको आधारमा नियमन गर्न सक्ने, भारवहन अनुगमन तथा नियन्त्रण गर्ने निकायले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सञ्चालन गरेको तौलपुलसमेतको प्रयोग गर्न सक्ने व्यवस्था रहेको विभागले उल्लेख गरेको छ। सोही आधारमा जाँच गरेर क्षमताभन्दा धेरै लोड बोक्ने मालवाहक सवारीलाई कारबाही गर्न विभागले भनेको छ।

ट्रकहरुले क्षमताभन्दा धेरै लोड बोक्दा पुल भाँचिने, सडक भत्किनेक्रम बढेकाले जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा रहेका सम्पूर्ण नियमनकारी निकायलाई निर्देशन तथा समन्वय गरेर त्यस्ता ट्रकहरुको कडा निमयन गर्न भनेको छ।

साथै टुक्राउन नमिल्ने सामान बोकेको कारण क्षमताभन्दा बढी तौल हुन जाने सवारीले भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को बुँदा १०(२) अनुसारको पूर्वस्वीकृति लिइएको यकिन गरेरमात्र सञ्चालन गर्न दिन विभागले भनेको छ। अन्यको हकमा बुँदा ९ तथा १० को १ मा व्यवस्था भएअनुसार प्रचलित कानूनअनुसारको जरिवाना र भारसमेत मिलान गरेरमात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गर्न विभागले सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। 

सिनो ट्रकले बिक्री गर्छ क्षमताभन्दा धेरैका ट्रक

चिनियाँ कमर्सियल सवारी उत्पादक कम्पनी सिनो ट्रकका ट्रेलर तथा ट्रकहरू नेपालमा अधिक भारवहन क्षमतामा बिक्री गर्दै आइरहेको छ। आधिकारिक बिक्रेताका रुपमा स्पार्क अटोमोटिभ प्रालिले सिनो ट्रक नेपालमा बिक्री गर्दै आएको छ। स्पार्क अटोमोटिभले कानूनले तोकेभन्दा धेरै भारवहन क्षमताका ट्रक निर्वाधरुपमा नेपाल भित्र्याएर बिक्री गरिरहेको छ।

सरकारले सडकको क्षमता नबिग्रियोस् भनेर ठूला ट्रक तथा ट्रेलरहरूले बोक्न पाउने लोडको सीमा तय गरेको छ। सीमाभन्दा बढी लोड बोक्दा सडकको संरचना बिग्रिने भएकाले नै सरकारले यस्तो मापदण्ड बनाएको हो। हरेक देशले आफ्नो देशमा बनेका सडकहरूमा निश्चित भार बोक्न सवारीसाधन गुडाउन पाउनेगरी मापदण्ड तयार पारेर कार्यान्वनयमा ल्याएका हुन्छन्।

नेपालमा पनि यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ ले दिएको अधिकार प्रयोग गरेर भारवहन निर्देशिका २०७४ जारी गरेको थियो। उक्त निर्देशिकाको अनुसूची १ मा एक्जलअनुसार कति लोड बोक्न पाइने भन्ने व्यवस्था रहेको छ।

अनुसूचीको व्याख्यामा कुल सवारी वजनसम्बन्धी विशेष सीमाहरूमा कुनै मालवाहक सवारीको कुल अधिकतम एक्जल लोड वा कुल सवारी वजन निर्धारणको लागि अनुसूची १ लाई आधार मानिनेछ तर नेपालमा सञ्चालन हुने रिजिड ट्रकको हकमा कुल वजन ३६ टन र ट्रेलर वा सेमी ट्रेलरको हकमा कुल वजन ४९ टनभन्दा बढी हुनु हुँदैन भन्ने उल्लेख छ।

यस्तो स्पष्ट कानूनी व्यवस्था हुँदाहुँदै स्पार्क अटोमोटिभले सिनो ट्रकका ट्रेलर तथा ट्रकहरूको जीभीडब्लू ६५ टनसम्म रहेको उल्लेख गरेर बिक्री गरिरहेको छ। नेपालको यातायात व्यवस्था ऐनअन्तर्गतका भारवहनसम्बन्धी मापदण्डअनुसार गाडी डीभीडब्लू जतिसुकै उल्लेख गरेपनि त्यसले लोड बोक्ने क्षमता निश्चित गरिएको छ।

सिनोले रिजिड ट्रक तथा ट्रेलले मापदण्डभन्दा बढी भारवहन क्षमता राखेर बिक्री गरिरहेको छ। विद्यमान कार्यविधिअनुसार रिजिड ट्रकले ३५ टन तथा ट्रेलरले ४९ टन भार बोक्न पाउँछन्। यो क्षमता अधिकतम बोक्न सक्ने भारवहन क्षमता हुने कार्यविधिमा उल्लेख छ।

विभागले पटकपटक क्षमताभन्दा बढी लोड बोक्ने ट्रकलाई कारबाही गर्न भन्दै आएको छ। सिनो ट्रकले नियम र कानूनको धज्जी उडाएर ट्रक बिक्री गरिरहेकाले अब आयातमै नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ।  


प्रकाशित : बुधबार, असार १८ २०८२१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend