काठमाडौं- पूर्वाधार विकास समितिका सभापति एवं सांसद दीपक सिंहले ग्वार्कोमा जस्तै काठमाडौं उपत्यकाका अन्य ठाउँमा पनि ओभरपास निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
बुधबार विकास समितिले भेरी नदी पुल र मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको समस्या सम्बन्धी छलफलका क्रममा उनले उपत्यकामा भइरहेकाे सवारी जामका विषायमा भाैतिक मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
ग्वार्कोमा ओभरपास बनेपछि त्यहाँको सवारी जाम अन्यत्र सरेको भन्दै सभापति एवं सांसद सिंहले छलफलमा उपस्थित मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलगायतका कर्मचारीको ध्यानाकर्षण गराए।
‘ग्वार्कोमा जस्तै ओभरपास उपत्यका भित्रै १०/१२ ठाउँमा बनाउनु पर्ने देखियो, नभए सवारी जामले धेरै समस्या गराउँछ’ सभापति सिंहले भने, ‘यस विषयमा सचिव, डिजीसहित सबैको ध्यानाकर्षण होस्।’ भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले त्यस्ता ओभरपास ३०/३१ ठाउँमा बनाउन मन्त्रालयले अध्ययन गरिहेको बताएका छन्।
साथै एकान्तकुना र सातदोबाटोमा छिटै बनाउनेसमेत उनको भनाइ छ। ‘यस्ता संरचना एक ठाउँमात्रै बनाएर समस्या समाधान हुँदैन, पुरै नेटवर्क बनाएर काम गर्नुपर्छ’ सचिव शर्माले भने। असार ६ गतेबाट सञ्चालनमा आएको ओभरपासले ग्वार्कोमा सवारी जाम घटाएपनि कोटेश्वर र सातदोबाटोमा बढाएको सर्वसाधारणले गुनासो गर्न थालेका छन्।