बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

म्याग्दीको टिकोट गाउँ : प्रकृति र संस्कृतिको संगम

images
बुधबार, असार १८ २०८२
images
images
म्याग्दीको टिकोट गाउँ : प्रकृति र संस्कृतिको संगम

बेनीदेखि तिप्ल्याङ, महभिर हुँदै दुई घण्टा जीप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ।

images
images

म्याग्दी- पहाडको टुप्पोमा भिरालो पाखामा मौलिक ढुंगे घरहरु भएको झुरुप्प बस्ती। पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा। गाउँको फेदीदेखि शिरसम्म ढुंगा चिनेर बनाएको सफासुग्घर पदमार्ग। पौरखी र मिजासिला गाउँलेको न्यानो आतिथ्यता। 

images
images

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो। पुन थरका मगर समुदायको बाहूल्य बसोबास रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ।

images
images

होमस्टे सञ्चालकसमेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले (प्रदीप) कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए। 'महावीर पुनको योजनामा सन् २०११ मा सुरु भएको अन्नपूर्ण-धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारीअघिसम्म पर्यटक आगमन राम्रै थियो,' उनले भने, 'पछिल्लो पाँच वर्षयता फाट्टफुट्टमात्र पर्यटक आउने गरेका छन्।'

images
images
images

समुद्री सतहदेखि दुई हजार दुईसय ५० मिटर उचाईमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृष्य अवलोकन गर्न सकिन्छ। टिकोटदेखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाडादेखि हिमशृङखलाको अलावा सुर्योदय, म्याग्दीका ग्रामीण बस्ती र पहाडी भूगोल देखिन्छ।

टिकोटका १० वटा घारमा होमस्टे (घरबास) सुविधा छ। यहाँको होमस्टेमा एक दिनमा ४० जनाभन्दा बढी पाहुना बास बस्न सक्छन्। विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ। होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ।

नेपाली पाहुनाहरु व्यक्तिगत सम्पर्क गरेर सिधै होमस्टेमा जान्छन्। लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरबास र सामुदायिक लज स्थापना भएको थियो। स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिँडो, गाईभैँसीको दूध, दही, विषादी र रासायनिक मलको प्रयोगबिना उत्पादन गरिएको प्रांगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ। आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन्। कृषि पेसामा आधारित टिकोटबासीको जीवनशैली पनि पर्यटकको थप आकर्षण हो। 

अन्नपूर्ण-धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको बेनी-मल्लाज-बाँसखर्क-डाँडाकटेरी-नागी-मोहरेडाँडा-फुलबारी-ठूलाखर्क हुँदै पाँचौँ दिनमा पुगिने टिकोटबाट बेनी-जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुँदै खोप्रातर्फ जान सकिन्छ। बेनीदेखि तिप्ल्याङ, महभिर हुँदै दुई घण्टा जीप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ।

अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरुको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ। पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको २९ लाख रूपैयाँ बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका-७ का वडा अध्यक्ष मइलन पुर्जा पुनले बताए। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend