काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवालाई उद्यमी बनाउन ‘स्टार्टअप’ कार्यक्रम लागु गरिने बताएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमध्ये उद्योग मन्त्रालयका विषयमा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले यो कार्यक्रमले कामका लागि विदेशिने युवाको संख्यामा कमी आउने विश्वास व्यक्त गरे।
मन्त्रालयले औद्योगिक पूर्वाधार निर्माण गर्न प्राथमिकता दिइएको, औद्योगिक क्षेत्रको प्रबर्द्धन, मन्त्रालयको सेवा अनलाइन प्रणालीबाट अघि बढाइने, कम्पनी रजिष्ट्रार कार्यालयको सेवा गत वर्षको फागुनदेखि नै अनलाइनबाट दिन थालिएको पनि मन्त्री भण्डारीले जानकारी गराएका छन्।
यसका साथै खानी तथा भूगर्भ विभागबाट खानी तथा उत्खनन् अन्वेषण गरिने, प्रक्रिया पुर्याएर निजी क्षेत्रलाई खानी उत्खननमा लगाउने, धौवादी फलाम खानीका लागि पहुँच सडक निर्माणकार्य गरी अघि बढाउन, स्टार्टअप कर्जा कार्यक्रम विस्तार गर्न र औद्योगिक विकास ग्राम सम्बन्धित स्थानीय तहले नै निर्माण गर्ने गरी कार्यक्रम ल्याइएको उनकाे भनाइ छ।
सरकारले छुट्टै उद्योग स्थापना गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले कृषिऔजार उत्पादनका लागि कारखाना स्थापना गर्ने कामलाई प्राथमिकतामा राखिएको बताए। रासस