बागलुङ- बुर्तिबाङ बजारसँगै जोडिएको भब्रेटा गाउँ छ। भब्रेटा गाउँमा उक्लिँदा बित्तिकै ठूलो कृषि फार्म देखिन्छ। फार्ममा लहलह फलेका काँक्रा, गोडेडा, काउली र बन्दा। फार्म छेउमै रहेको बारीमा भेटिन्छन् चन्द्रलाल पाण्डे।
बारीको घाँस काट्ने, तकारीमा पानी लगाउने र भैँसी दुहुने चन्द्रलालको दैनिकी हो। आकस्मिक कामबाहेक उनी फार्म छाडेर कतै जादैनन्। जानका लागि उनलाई फुर्सद पनि हुँदैन। करिब २० वर्ष अगाडि कतार पुगेका चन्द्रलालले पाँच वर्ष उहीँ बिताए।
परदेशी भूमि, दुःखको काम त्यसमाथि साहुको गाली/बोली जसले गर्दा उनलाई विदेश बस्नै मन भएन। पाँच वर्ष बिताएपछि गाउँ फर्किएर उनले २०६७ देखि व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेका हुन्।
विस्तारै भैँसी पालेर दूध बिक्री सुरु गरेका चन्द्रलालले अहिले तरकारी र दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन्। उनले २४ रोपनी क्षेत्रमा तरकारीखेती र पाँचवटा भैँसी पालेर दैनिक ३० लिटर दूध बिक्री गर्छन्। बुर्तिबाङ बजार नजिकै रहेको हुँदा उनले उत्पादन गरेको तरकारी र दूध बिक्रीका लागि समस्या छैन।
जति पनि बजारमै खपत हुने हुँदा उत्पादन बढाउनतर्फ उनी लागिरहेका छन्। पन्ध्र वर्षसम्म निरन्तर तरकारीखेती र दूध उत्पादन गर्दै आएका चन्द्रलाल विदेशमा भन्दा बढी खुसी र सुखी छन्। विदेशको पीडाले आफूलाई गाउँमै उद्यमी बन्न सिकाएको उनले सुनाए।
‘म विदेश जानभन्दा पहिला पनि सामान्य रुपमा तरकारीखेती गरेको थिए, तर अहिले जस्तो व्यावसायिक बन्न सकेको थिएन, धेरै कमाइएला भनेर कतार पुँगे, त्यहाँ त निकै कडा काम गर्नु पर्दोरैछ, साहुको नमिठो गाली/बोली सहन नसकेर गाउँ फर्किएर यही केही गरौँ भनेर सुरु गरेँ’ उनले भने।
उनले तरकारी र दूध बेचेरै आठ जनाको परिवार चलाउँदैछन्। पहिले घरपरिवार चलाउनका समस्या हुने गरेको स्मरण गर्दै तरकारीखेतीले सहज रुपमा जीवनयापन गर्नसक्ने बनाएको पाण्डेले बताए। खासगरी हिउँदको बेमौसरी तरकारी उत्पादन गर्दै आएकाछन्।
१५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेर अहिलेसम्म करिब ३५ लाख लगानी भइसकेकाे छ। कृषि ज्ञान केन्द्र बागलुङले टनेल, भकारो गर्न र अन्य व्यस्थापनका लागि १५ लाख सहयोग गरेको थियाे। तर, उनले नगरपालिकाबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरे।
साथै पूर्णकालीन रुपमा एकजना कामदार राखेर १८ हजार रुपैयाँ तलब दिन्छन्। समय-समयमा गाउँका अन्य युवालाई पनि रोजगार दिने गरेको उनको भनाइ छ। चन्द्रलालले तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी गर्छन्। तरकारीखेतीबाट केही सम्पत्तिसमेत जोडिसकेका छन्।
‘तरकारीखेतीले मेरो आर्थिक अवस्था पनि उकास्यो, पहिले ६ मुरी धान फल्ने खेत मात्रै थियो, अहिले मैले थप ३४ मुरी धान खेत किनेँ, तराईमा एउटा घडेरी जोडेको छु। धैर्य भएर मेहनत गरेपछि सफलता हासिल गर्न सकिने रैछ भन्ने बुझ्दैछु’ उनले भने। यो पेसाबाट मेरो सिंगाे परिवार नै सन्तुष्ट रहेकाे र सक्दासम्म यही पेसा गर्ने उनकाे याेजना छ। रासस