महोत्तरी- सयममा वर्षात नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ। मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो। जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ।
तर, यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो।
‘अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ’ कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने।
सामान्यतयाः महोत्तरीसहित मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असार भित्र रोपाइँ सक्दछन्। यही असार १५ गते धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई/तीन प्रतिशतभित्र भएकाे छ।जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ।
यसपालि लामो खडेरीले कुलोको मुहान नरसाउँदा पनि रोपाइँ कम भएको हाे। भंगा-५ का भूचक्रपुरका किसान लक्ष्मण महतो सरकारले वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेलजस्ता कार्यक्रम र बीउ, मलखाद एवं प्रविधि किसानसम्म पुर्याउन सकेमात्र खेतीपातीमा किसानको उत्साह बढ्ने बताउँछन्। रासस