काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ, विशेष गरी पश्चिम नेपालको केही नजिक रहेको बताइएको छ।
मंगलबार देशभर आकाश सामान्यतया बदली रहनेछ। बिहानैदेखि कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै, उच्च–पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। ती क्षेत्रहरूका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको भनाइ छ।
मौसमविद्हरूले मनसुनी गतिविधि तीव्र भइरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएका छन्।