काठमाडौं- चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रबर्द्धन गरिएको छ। नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटीई) २०२५ मार्फत नेपाल गन्तव्यको प्रबर्द्धन गरेको हो। नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार रहेको सन्देश दिइएको छ।
बेइजिङको चाओयाङ जिल्लास्थित चाइना इन्टरनेश्नल एक्जिविसिज सम्पन्न तीनदिने प्रदर्शनीका क्रममा बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल प्रकृति, संस्कृति, साहसिकता र पाहुना सत्कारको अनुपम संयोजनसहित पर्यटक स्वागतका लागि तयार रहेको बताए।
उनले छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले स्वागतका लागि तयार भएको उल्लेख गर्दै नेपालले कला, संस्कृति, होलिडे, बुद्धिजमलगायत विषयलाई पर्यटन प्याकेजमा राखेकोसमेत उल्लेखन गरेका छन्।
२७ जुनदेखि सुरू भएको प्रदर्शनीका क्रममा बोर्डले नेपालको आध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई सशक्त रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको हो। प्रदर्शनीमा आएका पर्यटन व्यवसायी र अवलोकनकर्ताहरूले नेपालको सफ्ट एड्भेन्चर, सांस्कृतिक परिपथ, आध्यात्मिक गन्तव्य तथा छोटो अवधीका विश्राम भ्रमणहरूमा गहिरो चासो देखाएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
नेपालप्रति देखिएको विशेष आकर्षणलाई प्रतिविम्बित गर्दै, नेपालको पविलियनलाई ‘बेस्ट पपुलारिटी अवार्डसमेत प्रदान गरिएको थियो। बोर्डका अनुसार पहिलो दुई दिन बीटुबी नेटवर्किङ र अन्तिम दिन बीटुसी अन्तरक्रियालाई लक्षित गरी प्रदर्शनी गरिएको थियो।
नेपाल पर्यटन बोर्डले प्रदर्शनीको साइडलाइन सत्रमा एक विशेष गन्तव्य प्रस्तुतीका क्रममा चिनियाँ पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश पनि दिएको छ। नेपाल पविलियन यहाँको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदा, हिमाली रोमाञ्चक अनुभवहरू तथा विविध पर्यटकीय सम्भावनाहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको थियो।
सहभागी निजी पर्यटन व्यवसायीहरूले पनि नेपालका उत्कृष्ट ट्राभल प्याकेजहरू प्रस्तुत गर्दै पर्यटकलाई बहुआयामिक अनुभव दिने क्षमताको बारेमा जानकारी गराएका थिए। बीआटीई-२०२५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बेइजिङस्थि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, आर्थिक मामिला विभागबाट पार्वती अर्याल तथा अन्य उच्च अधिकारीहरूले नेपाल पविलियन अवलोकन गरेका थिए।
नेपाली प्रतिनिधिमण्डलले माल्दिभ्स र रुसको सेन्ट पिटर्सबर्गका पर्यटन व्यवसायीसँग द्विपक्षीय पर्यटन प्रबर्द्धनका लागि छलफलसमेत गरेका थिए। बोर्डले आगामी दिनमा यी सम्पर्क र अन्तरक्रियालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्दै बेइजिङलगायत आसपासका सहरहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ। रासस