सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

१० महिनामै ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब ३५ करोड खुद नाफा, अन्य सूचक कस्तो?

सोमबार, असार १६ २०८२
१० महिनामै ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब ३५ करोड खुद नाफा, अन्य सूचक कस्तो?

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा नै ग्लोबल आईएमई बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। यस अवधिसम्म बैंकले ३६ अर्ब ७८ करोड ब्याज आम्दानी र २२ अर्ब ९७  करोड रुपैयाँ ब्याज खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

यस अवधिमा बैंकले ऋण तथा सापटी लगानीबाट ३१ अर्ब ९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। यस्तै सरकारी ऋणपत्रमा लगानी गरेबापत बैंकलाई ४ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी प्राप्त भएको छ। 

ब्याज खर्चतर्फ बैंकले साधारण बचतकर्ताहरुलाई ४ अर्ब ७१ करोड रुपैयाँ, मुद्दती निक्षेपका बचतकर्ताहरुलाई १६ अर्ब १२ करोड रुपैयाँ ब्याज दिएको छ। समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको कुल खराब कर्जा नोक्सानी व्यवस्थामा ३ अर्ब ४ करोड रहेको छ।

ग्लोबल आईएमई बैंक सर्वाधिक नाफा गर्ने बैंकहरुको सूचीमा दोस्रो स्थानमा रहेको छ। बैशाख महिना अन्त्यसम्मको तथ्यांकलाई आधार मान्ने हो भने बैंकसँग पर्याप्त कर्जा लगानी गर्नसक्ने क्षमतासमेत रहेको छ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.९९ प्रतिशत रहेको छ। यस्तै यस अवधिमा बैंकको नेट लिक्युडिटी (एलडी) अनुपात ३३ प्रतिशतभन्दा बढी रहेको छ।

प्राथमिक पुँजीकोष अनुपातमा पनि बैंक निकै अगाडि देखिन्छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमास समाप्त हुँदासम्म बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.१७ प्रतिशत र न्यूनतम पुँजीकोष पर्याप्तता अनुपात १२.३६ प्रतिशत रहेको छ।

राष्ट्र बैंकले बैंकहरुको प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत र न्यूनतम पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। यस हिसाबमा हेर्ने हो भने बैंकसँग थप ५०/६० ऋण लगानी गर्ने क्षमता छ। 

चालु आर्थिक वर्ष चैत मसान्तसम्मा यस बैंकले ५ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ३८ अर्ब हाराहारीमा कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकको आधारदर घटेर ६.२१ प्रतिशतमा आएको छ भने स्प्रेड दर राष्ट्र बैंकको सीमाभन्दा कम ३.७९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशतको हाराहारीमा रहेको छ। बैंकले हालसम्ममा कुल कर्जामध्ये प्राथमिकता प्राप्त क्षेत्रमा २९.८० प्रतिशत कर्जा लगानी गरेको छ। जसअनुसार कृषि क्षेत्रतर्फ १२.७४ प्रतिशत, जलविद्युत क्षेत्रतर्फ ६.४७ प्रतिशत र लघु, घरेलु साना तथा मझौला उद्योगमा ११.०६ प्रतिशत कर्जा लगानी गरेको छ। 

पछिल्लो समय यस बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै बैंकले मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सुरक्षित र भरपर्दो फन्ड ट्रान्सफरको सुविधा प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, असार १६ २०८२१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend