तनहुँ- जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अंगुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ। घिरिङ गाउँपालिका-४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अंगुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन्।
काठमाडौं चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अंगुरखेती सुरु गरेका थिए। वि.सं. २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती सुरु गरेकामा अहिले फार्ममा लटरम्म अंगुर फलेका छन्।
करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अंगुर लगाएको कार्कीले जानकारी दिए। उनका अनुसार जिल्लाको पहिलो अंगुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ आउँनेगरेका छन्।
व्यास नगरपालिका-५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अंगुरले यहाँ आउँने जोकोहीलाई लोभ्याउने बताए। अंगुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अंगुरखेती प्रशंसालायक रहेको बताए। सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन्।
स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको हाे। अंगुरखेतीका लागि हालसम्म एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उनले भने। कार्कीका अनुसार यहाँ उत्पादित अंगुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ। सात सय ५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको छ।
वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका-१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए। धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अंगुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल एक हजार दुई सयमा बिक्री भइरहेको छ।
कार्कीले भन्छन्, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ। वर्षामा एकपटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उgको भनाइ छ। फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अंगुर छन्।
अंगुरको बोटमा चैत, बैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ। यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अंगुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउँछन्। रासस