भोजपुर- पहाडी जिल्ला भोजपुरमा रहेका स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नगर तथा गाउँसभाबाट बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाको बजेटसहितको नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।
षडानन्द नगरपालिकाले सबैभन्दा बढी र पूर्वी पौवादुङमा गाउँपालिकाले सानो आकारको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। षडानन्द नगरपालिकाले८९ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको नीति तथा कार्यक्रम ल्याएको छ।
पौवादुङमाले ४० करोड ६७ लाख ६१ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि ल्याएको छ।भोजपुर नगरपालिकाले ६५ करोड ११ लाख ८० हजार, टेम्केमैयुङ गाउँपालिकाले ५७ करोड आठ लाख ५१ हजार, साल्पासिलिछो गाउँपालिकाले ५१ करोड ८५ लाख ५० हजार तथा अरुण गाउँपालिकाले ४८ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम ल्याएको हाे।
यसैगरी, हतुवागढी गाउँपालिकाले ४७ करोड ७० लाख ४२ हजार, आमचोक गाउँपालिकाले ४७ करोड तीन लाख ५८ हजार र रामप्रसाद राई गाउँपालिकाले ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँ बराबरको बजेट ल्याएका छन्। पालिकाभित्रका सबै क्षेत्रलाई समेट्ने गरी बजेटअनुसारको नीति तथा कार्यक्रम ल्याएको पालिकाहरुले उल्लेख गरेका छन्। रासस