सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

'वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरलरूपमा कच्चापदार्थ उपलब्ध गराउने लक्ष्य छ'

images
सोमबार, असार ९ २०८२
images
images
'वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरलरूपमा कच्चापदार्थ उपलब्ध गराउने लक्ष्य छ'

वनमन्त्री ऐनबहादुर शाहीले वन सम्वर्द्धन प्रणालीमा अधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी वन, वनस्पति र वन पैदावारको गुणस्तरीय उत्पादनमा जोड दिइएको जानकारी दिए।

images
images

काठमाडौं- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले काठजन्य सामग्रीको आयात प्रतिस्थापन गरिने लक्ष्य रहेको बताएका छन्। वन तथा वातावरण मन्त्रालयतर्फ प्रतिनिधिसभामा बजेट छलफलमा उठेका सवालको जवाफ दिँदै मन्त्री शाहीले काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्ने गरी प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्न सशर्त अनुदानको व्यवस्था गरिएको बताएका हुन्।

images
images
images

'सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनमा उपयुक्त वन संवर्द्धन प्रणाली अपनाइ वनको दिगो व्यवस्थापन हुनेगरी वनमा भएका ढलेका, सुकेका र बुढा रुख संकलन गरी काठदाउराको उत्पादन बढाउने लक्ष्य छ,' उनले भने, 'काठदाउराको आपूर्ति गर्ने र फर्निचरलगायत वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरलरूपमा कच्चापदार्थ उपलब्ध गराउने लक्ष्य रहेको छ। मन्त्रालयको बजेट अपर्याप्त रहेको विषय, वनलाई उद्यमशीलता, आयआर्जनसँग जोड्ने विषय र राष्ट्रिय अर्थतन्त्रमा वनको योगदानमा वृद्धि गर्नेलगायत विषयलाई गम्भीरता उठेको छ।'

images
images

मन्त्री शाहीले वनक्षेत्रका धेरै संरचना प्रदेश सरकार मातहत रहेको र ती संरचनाको चालु खर्च तथा पुँजीगत खर्च प्रदेश सरकारको बजेटअन्तर्गत नै रहने सन्दर्भमा संघीय सरकारबाट सञ्चालन हुने कार्यक्रमका लागि मात्र १२ अर्ब तीन करोड ८८ लाख रूपैयाँ विनयोजन गरिएको जानकारी दिए।

images
images
images

'त्यसैगरी सशर्त अनुदानमार्फत प्रदेश सरकारलाई तीन अर्ब ९० करोड ९२ लाख रूपैयाँ र स्थानीय तहलाई ४५ करोड ४८ लाख विनियोजन गरी पठाइएको छ,' उनले भने, 'मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई खासगरी वनको दिगो व्यवस्थापन गरी काठदाउराको उत्पादन, निजी सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षरोपण, भू तथा जलाधार संरक्षण, वन वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, जडीबुटीको संरक्षण तथा उपयोग, चुरे क्षेत्रको एकीकृत संरक्षण, जलवायु परिवर्तनको न्यूनीकरण तथा अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वनक्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रका रूपमा विकास गर्ने गरी प्रस्ताव गरिएको छ।' 

मन्त्री शाहीले वन सम्वर्द्धन प्रणालीमा अधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी वन, वनस्पति र वन पैदावारको गुणस्तरीय उत्पादनमा जोड दिइएको जानकारी दिए। 'काठको उत्पादन वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने, स्वदेशी वन पैदावारबाट उत्पादित सामग्री उपयोगमा प्रोत्साहन र आपूर्तिलाई सहज बनाउने र आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ,' उनले भने, 'यसका लागि राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना र दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। यसबाट वनको दिगो व्यवस्थापन भइ काठदाउरा उत्पादन तथा वनक्षेत्रको राजस्वमा वृद्धि हुने, रोजगारी सिर्जना हुने र विदेशी काठको आयात कमी हुने अपेक्षा गरिएको छ।'

देशको समग्र काष्ठ उत्पादनमा निजी जग्गामा रहेका रुखको प्रमुख भूमिका रहेको कुरालाई मध्यनजर गर्दै वन नियमावली २०७९ मा किसानको निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषिबाली सरह ओसारपसार गर्न पाउने गरी व्यवस्था गरिएको मन्त्री शाहीले बताए।

वन्यजन्तुको संरक्षण गर्न घाँसे मैदान र पानी स्रोतको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वसूचना प्रणाली र पूर्वाधारलाई व्यवस्थित गराइने उनको भनाइ छ। हात्तीको व्यवस्थापन, जंगली रातो बाँदर र जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको, टुहुरा तथा समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गर्ने लक्ष्य रहेकोसमेत उनले जानकारी दिए।

'नेपालका संरक्षित क्षेत्रलाई पर्यटनको प्रमुख गन्तव्य बनाउने, कोशी टप्पुमा गैँडाको बासस्थान व्यवस्थापन, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रमा मानव प्रकृति सहअस्तित्व कायम हुनेगरी प्राकृतिक स्रोतको व्यवस्थापन एवं उपयोग गर्न मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली र संरक्षण क्षेत्र व्यवस्थापन नियमावलीमा संशोधन गर्न लागिएको छ,' मन्त्री शाहीले भने, 'जडीबुटी विकास कार्यक्रम कार्यान्वयनका लागि सातवटै प्रदेशमा सर्शत अनुदानमार्फत कार्यक्रम राखिएका छन्। जडीबुटीको प्राकृतिक संरक्षण, खेती विस्तार, उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायीकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको छ।'

पानी र माटोको संरक्षण हुनेगरी भू तथा जलाधार संरक्षणका कार्यक्रम प्रस्ताव गरिएको, राष्ट्रपति चुरे कार्यक्रमलाई मार्गदर्शन गर्ने चुरेको गुरुयोजनालाई तीनै तहको अपनत्व हुनेगरी समय सापेक्ष रूपमा संशोधन गर्न लागिएको उनको भनाइ छ। उनले जलवायु परिवर्तन अनुकूलनका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच बढाउँदै लगिने, कार्बन व्यापारलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय बनाउन कार्बन व्यापार नियमावलीको तर्जुमा अन्तिम चरणमा पुगेको जानकारी गराए।

'वातावरण संरक्षणका लागि विभिन्न वातावरणीय मापदण्ड तथा निर्देशिका तर्जुमा तथा संशोधन, वातावरणीय अनुगमन, प्रयोगशाला तथा वायु गुणस्तरमापन केन्द्रको मर्मत तथा स्तरोन्नती, वातावरणीय स्वच्छतासम्बन्धी प्रचारप्रसार प्लास्टिक झोला नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको छ,' उनले भने, 'आव २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेखित लक्ष्य हासिल गर्न चुरे संरक्षण, वनको दिगो व्यवस्थापन, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन, भू तथा जलाधार संरक्षणलगायतका विभिन्न विषयमा माननीय सदस्यहरूबाट नै बजेट अपुग भएको विषय उठान गरिएको हुँदा प्रस्तावित बजेटमा खर्च कटौती गर्नुपर्ने अवस्था देखिएन।' रासस


प्रकाशित : सोमबार, असार ९ २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend