काठमाडौं- भटमासको प्रशोधित तेलको निर्यात तीव्ररूपमा बढिरहेको अवस्थामा जनकपुरमा साढे ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँबराबर विदेशी लगानीमा खाद्य तेल उद्योग खोलिने भएको छ।
लगानी बोर्डको ६४औँ बैठकले भारतको 'विनायक आयल इन्डस्ट्रिज'लाई जनकपुरमा उद्योग स्थापना गर्न स्वीकृति दिइसकेको छ। बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार उद्योग नेपाली व्यवसायी टिबडेवाला समूहसँगको साझेदारीमा सञ्चालन हुनेछ। प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयल एन्ड फ्याट्स प्रालिको रहने गरी प्रस्ताव पेस भएको उनले जानकारी दिए।
उद्योगमा विनायक आयलको ६७ प्रतिशत र नेपाली पक्ष टिबडेवालाको ३३ प्रतिशत स्वामित्व रहने गरी लगानी संरचनाको प्रस्वात बोर्डमा पेस भएको छ। उद्योग स्थापना गर्न दुबै पक्षबीच आपसी समझदारी (एमओयू) पनि भइसकेको छ।
नेपालले पछिल्लो समय खाद्य तेल उत्पादनका लागि आवश्यक कच्चा भटमासको तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड र युक्रेनजस्ता मुलुकबाट आयात गर्दै आएको छ। नेपालमै प्रशोधन गरिएका तेलका अधिकांश उत्पादन भारतमा निर्यात हुने गरेका छन्।
‘भटमासमात्रै नभएर तोरी, सूर्यमुखीसहितको तेल रिफाइन गरेर तेलमा आधारित ६ वटा प्रडक्ट बनाउनेगरी प्रस्ताव पेश भएको छ,’ प्रवक्ता उपाध्ययले भने।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको कुल निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले बढेको छ। यस निर्यात वृद्धिमा भटमासको तेलको भूमिका अत्यन्त महत्वपूर्ण देखिएको छ। सो अवधिमा मात्र ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी मूल्यबराबरको भटमासको प्रशोधित तेल भारत पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १ सय ७ गुणा बढी हो।
उद्योग स्थापनासँगै नेपालमै खाद्य तेलको प्रशोधन गरिनेछ र विभिन्न उत्पादन बजारमा ल्याइने जनाइएको छ। प्रारम्भिक योजनाअनुसार कोलकत्तामा आधारित टिबडेवाल समूहले जनकपुर ईकाइमार्फत प्रत्यक्ष लगानी भित्र्याउनेछ। पूर्वाधार निर्माण, मेसिनरी जडान र उत्पादन सुरू गर्ने प्रक्रिया चाँडै अघि बढाइने तयारी लगानीकर्ताले गरेका छन्।
नेपाल-भारत वाणिज्य सन्धीअनुसार नेपालबाट भारतमा निर्यात हुने प्रशोधित वस्तुमा भन्सार छुटको व्यवस्था छ, तर त्यसका लागि कच्चा पदार्थमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि देखिनु आवश्यक हुन्छ। भारतले सन् २०२४ सेप्टेम्बरमा अन्य मुलुकबाट आयात हुने तेलमा भन्सार महसुल २० प्रतिशत बिन्दुले बढाएपछि नेपालले तुलनात्मक लाभ लिन थालेको हो।
भन्सार छुटको यही सुविधा लिएर प्रशोधन उद्योगहरूले उत्पादनमा पर्याप्त मूल्य अभिवृद्धि देखाइ भारतमा निर्यात गरिरहेका छन्। यसले नेपालमा खाद्य तेल प्रशोधन उद्योगको विस्तारलाई गति दिएको छ। अब जनकपुरमा स्थापना हुने उद्योगले उक्त प्रवृत्तिलाई संस्थागत बनाउँदै निर्यातमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि सानासाना उद्योगमा थोरै लगानी भइरहेका थिए अब यो भने ठूलो लगानी भएकोले स्थिर हुने अनुमान बोर्डले गरेको छ। यस परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै तेल आयातमा निर्भरता घटाउने र व्यापार घाटा न्यूनीकरणतर्फ टेवा पुर्याउने गरी प्रस्ताव पेश गरेको छ।
कस्तो हो कम्पनी?
विनायक आयल एन्ड फ्याट्स प्रा लि सन् १९९७ मा स्थापना भएको कम्पनी हो। सुरुवाती चरणमा चामलको भुसबाट तेल प्रशोधन गर्ने र प्याकिङ गर्ने सामान्य संयन्त्रबाट सञ्चालनमा आएको यो कम्पनीले वर्षौँदेखि क्रमिक प्रगति गर्दै आएको छ। हाल यस कम्पनीले दैनिक १ सय ५० मेट्रिक टन क्षमता भएको अत्याधुनिक तेल प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ।
उद्योगमा स्टेनलेस स्टिलका भण्डारण ट्यांकी, युरोपियन सेन्ट्रीफ्युजिङ प्रणाली, जापानी विंटराइजिङ प्रविधि, फोहर प्रशोधन केन्द्र, पानी प्रशोधन केन्द्र र पूर्णत: स्वचालित प्याकेजिङ युनिट रहेका छन्। यसले उत्पादनको गुणस्तर, शुद्धता र दीर्घकालीन संरक्षण सुनिश्चित गर्छ।
समूहले सञ्चालनमा ल्याएका विभिन्न ब्रान्डहरू जस्तै डाक्टर्स च्वाइस, साथी, केएमपी, नव भोजनस् र शिवा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएका देखिन्छन्।