काठमाडौं- सरकारले ल्याएको बजेटमाथिको मन्त्रालयगत छलफल सकिएको छ। अब मन्त्रालयत छलफलमा उठेका प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
आज ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय छ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरू कोही पनि विनियोजनप्रति सन्तुष्ट सुनिएनन् न सत्ता न त प्रतिपक्ष।
सामान्यत: सत्तापक्षका सांसदहरू बजेटको समर्थन तथा विपक्षी दलका सांसदले विरोध गर्ने चलन हो तर छलफलसमा सहभागी सत्तापक्षकै सांसदहरूले आफ्नो पार्टीको मन्त्रीलाई छाडेर अर्को पार्टीको मन्त्रीको आलोचना गर्नदेखि सबैलाई विरोध गर्नेसम्म देखिए।
विशेषगरी कांग्रेसका सांसदहरूले आफ्नै पार्टीका मन्त्रीहरूको चर्को आलोचना गरे। पूर्णबहादुर तामाङ, सुनिल शर्मा, अर्जुनरसिंह केसीजस्ता सांसदले आफ्नै पार्टीका मन्त्रीको चर्को आलोचना गरे। समग्र बजेट विनियोजन त यसै पनि आलोचना गरे नै, त्यसमाथि सहरी विकासमन्त्री धेरै सांसदको तारोमा परे।
यसअघिका बजेटमाथिको छलफलको रेकर्ड हेर्दा पनि कांग्रेसका सांसद आफ्नै पार्टीको अर्थमन्त्री हुँदा पनि बजेटको आलोचना गर्नेमा पर्छन्। तर एमालेका सांसदहरूले भने आफ्नै पार्टीको त्यसमाथि अध्यक्ष केपी ओली प्रधानमन्त्री तथा आफ्नै नेता अर्थमन्त्री हुँदा आएको बजेटको आलोचना गर्नबाट भने पन्छिने गरेका थिए। तर यसपालि त्यस्तो भएन। कतिपय सांसदले घुमाउरो तरीकाले बजेटको आलोचना गरे।
'बजेट जहाँ गएपनि नेपाल नै बन्ने हो मेरो क्षेत्रमा नगए पनि दु:ख मान्दिनँ’ भन्ने शैलीले एमाले सांसदहरूले पनि बजेटको आलोचना गरेका छन्।
एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले भने सहरी विकास मन्त्रालयको जमेर आलोचना गरे। थापाजस्तै अरु एमाले सांसदहरूले पनि कांग्रेसका मन्त्रीहरूलाई छानेर बजेटमाथिको आलोचना गरे।
रास्वपा र राप्रपा यसै पनि विरोधमा रहेकाले यसपालि छलफलमा भाग लिएनन्। प्रतिपक्षको ठाउँबाट माओवादीका सांसदभन्दा सत्तापक्षकै सांसदको आलोचनाको स्वर तिखो सुनियो।
बजेटमाथि भएको छलफलका आधारमा हेर्दा बजेटबाट मन्त्रीहरु पनि सन्तुष्ट छन् कि छैनन्? सांसदहरू त कोही पनि सन्तुष्ट देखिएका छैनन्। तर धेरैको चासो भनेको आफ्नो क्षेत्रमा बजेट परेन भन्नेमात्र हो।
ठूलो बजेट भएका तथा सरकारमा पनि बलियो प्राधिकार भएका मन्त्रीहरूले बजेटलाई एकलौटी गरेको र केही क्षेत्रमा मात्र थुपारेको आरोप धेरै सांसदको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सभामुखको गृहजिल्ला झापा, सत्तारुढ दलका नेता शेरबहादुर देउवाको जिल्ला डडेलधुरा, गृहमन्त्री रमेश लेखको क्षेत्र, अर्मथन्त्री विष्णु पौडेलको जिल्ला रुपन्देही तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंमा बजेट केन्द्रित गरेको अधिकांश सांसदको आरोप छ।
कतिपय सांसदले यी मन्त्री तथा नेताहरूको नामै लिएर आलोचना गरे भने कतिपयले 'बिग फाइभ' क्षेत्रमा बजेट केन्द्रित भएको र बाँकी नेपाललाई हेपिएको आरोप लगाएका छन्।
यसपालि सुरूमा बजेट माग्न जाने सांसदहरूलाई मन्त्रीहरूले तीन करोडभन्दा तलको योजना केन्द्रमा नराख्ने मापदण्ड देखाएको तर आफ्नो क्षेत्रमा राख्दा भने त्यसलाई मिचिएको धेरैले उल्लेख गरेका छन्।
जहाँ धेरै विकासको आवश्यकता छ त्यहाँभन्दा शक्तिशाली नेताहरूको क्षेत्रमा बजेटको थुप्रो लगाइएको र कतिपय ठाउँमा सयौँ योजना पारिएको सांसदहरूले आरोप लगाएका छन्।
विकासको आवश्यकता भएका कतिपय ठाउँमा पानी र बिजुलीका लागि बजेट नभएको तर ठूला नेताहरूको क्षेत्रमा कालोपत्रेमाथि कालोपत्रे गर्न पनि बजेट छुट्याइएको सांसदहरूको आरोप छ।