आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, २६ खर्ब ५४ अर्ब पुग्यो सरकारी ऋण

images
आइतबार, असार ८ २०८२
images
images
लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, २६ खर्ब ५४ अर्ब पुग्यो सरकारी ऋण

सरकारी ऋणको साँवाब्याज भुक्तानीका लागि पछिल्लो ११ महिनामा तीन खर्ब २९ अर्ब ६० करोड रूपैयाँ खर्च भएको छ। यस वर्ष सरकारले साँवा ब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड रूपैयाँ बजेट छुट्याएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रूपैयाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन।

images
images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार ९९ अर्ब २० करोड १७ लाख रूपैयाँ बराबर बाह्य ऋण उठाइएको छ। यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो। अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ।

images
images

गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ। चालु आवका लागि तीन खर्ब ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११ महिनामा तीन खर्ब १५ अर्ब रूपैयाँ हाराहारी उठिसकेको छ।

images
images
images

सरकारले अधिकांश बाह्य ऋणलाई पुँजीगत शीर्षक अर्थात् विकास आयोजनामा खर्च हुने बजेट स्रोतका रूपमा देखाएको हुन्छ। अहिले विकास आयोजनाको काम सुस्त हुँदा र खर्च गर्न नसक्दा वैदेशिक ऋण प्राप्ति कमजोर देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले बताए।

'दुईपक्षीय वा बहुपक्षीय निकायबाट आउने बाह्य ऋण विभिन्न विकास आयोजनामा खर्च गर्नेगरी सहमति भएको हुन्छ। आयोजनामा काम गरेका आधारमा त्यसको भुक्तानी र शोधभर्ना हुँदै जाने हो। हाम्रा निकायले तोकिएका समयमा काम गर्न नसक्दा बाह्य ऋण प्राप्ति कमजोर भएको हो', कोइरालाले भने।

बाह्य ऋणलाई स्रोत देखाइएका अधिकांश आयोजनामा पहिले आन्तरिक स्रोतबाट खर्च भएर पछि शोधभर्ना हुने गरेको उनको भनाइ छ। दातृ निकायबाट हुने बाह्य ऋण प्रतिबद्धताको रकम सोझै सरकारको खातामा आउने नभइ सम्बन्धित आयोजनाको काम सम्पन्न भएको आधारमा प्रगति देखिने भएकाले यस वर्ष बाह्य ऋण प्राप्ति कमजोर देखिएको हो।

'दातृ निकायहरुले बढीजसो ‘बजेटरी सपोर्ट’ भन्दा पनि ‘प्रोजेक्ट फाइनान्सिङ’ गरेको हुन्छ। आयोजनामा काम भयो भने पैसा आउने हो, काम हुन सकेन भने आउँदैन', कार्यालयका प्रमुख कोइरालाले भने।

आयोजना कार्यान्वयन गर्न सम्बन्धित विषयगत मन्त्रालय र मातहतका निकाय जिम्मेवार हुने भएकाले कुनै एक मन्त्रालय वा निकायको कमजोरीका कारण नभइ समग्र विकास खर्च कमजोर देखिएकाले त्यसको प्रभाव बाह्य ऋण प्राप्तिमा देखिएको हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार शनिबार बेलुकासम्म सरकारको कुल पुँजीगत खर्च वार्षिक लक्ष्यको ४२ प्रतिशत हाराहारी छ।

सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी कुल ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेकामा गत जेठ मसान्तसम्ममा दुई खर्ब २० अर्ब ५८ करोड रूपैयाँ सरकारी ऋण थपिएको हो। गत जेठ मसान्तसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ४७ प्रतिशत हुन्छ।

त्यस्तै, हालसम्म सरकारले तिर्न बाँकी ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव शून्य छ र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ९४ प्रतिशत छ। गत जेठ मसान्तसम्मको तथ्यांकअनुसार आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड र बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड रूपैयाँ बराबर छ।

सरकारले चालु आवमा पाँच खर्ब ४७ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। गत जेठ मसान्तसम्ममा चार खर्ब १४ अर्ब १९ करोड रूपैयाँ ऋण उठिसकेको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत हुन्छ।

सरकारी ऋणको साँवाब्याज भुक्तानीका लागि पछिल्लो ११ महिनामा तीन खर्ब २९ अर्ब ६० करोड रूपैयाँ खर्च भएको छ। यस वर्ष सरकारले साँवा ब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड रूपैयाँ बजेट छुट्याएको थियो।

गत जेठ मसान्तसम्ममा आन्तरिक ऋणको साँवा तिर्नका लागि दुई खर्ब २३ अर्ब ३५ करोड ९४ लाख रूपैयाँ र आन्तरिक ऋणको ब्याज तिर्नका लागि ५४ अर्ब ३७ करोड २५ लाख रूपैयाँ खर्च भएको छ।

त्यस्तै, यही अवधिमा बाह्य ऋणको साँवा तिर्नका लागि ४३ अर्ब २९ करोड रूपैयाँ र बाह्य ऋणको ब्याज तिर्नका लागि आठ अर्ब ५७ करोड ७३ लाख रूपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend