काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रहरू फोर्दो, नतान्ज र इस्फहानमा अमेरिकी सेनाले 'सफल' आक्रमण गरेको दाबी गरेका छन्। उनले कुनै पनि अर्को कदम नचाल्न इरानलाई चेतावनी दिँदै भनेका छन्, 'याद गर, अझै धेरै निसाना बाँकी छन्।'
ट्रम्पले आक्रमणको उद्देश्य इरानलाई वार्तामा फर्काउने प्रयास भएको दाबी गरेका छन्। 'हामी युद्ध चाहँदैनौँ, तर इरानको आक्रामकता सहन पनि सक्दैनौँ,' ट्रम्पले भनेका छन्।
गएराति इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित तीनवटा स्थानमा अमेरिकाले गरेको हमला सफल भएको ट्रम्पले बताएका हुन्। इरान-इजरायल तनावको ९ दिनपछि अमेरिका पनि त्यसमा होमिएको छ। इरानको सबैभन्दा ठूलो परमाणु कार्यक्रम रहेको नतान्ज, फोर्दो र इस्फहानमा स्थानीय समयअनुसार बिहान २:३० बजे अमेरिकाले बम खसालेको थियो।
तर इरानले यस आक्रमणलाई 'उत्तेजक र अन्तर्राष्ट्रिय कानूनविपरीतको कार्य' भन्दै कडा विरोध जनाएको छ। इरानी विदेशमन्त्रीले अमेरिकाको हवाई कारबाहीलाई 'शान्तिपूर्ण आणविक पूर्वाधारमाथिको आक्रमण' भन्दै यसको 'दीर्घकालीन र गम्भीर परिणाम हुने' चेतावनी दिएका छन्।
इरानको भनाइअनुसार फोर्दो, नतान्ज र इस्फहानका आणविक स्थापनाहरू ऊर्जामुखी वैज्ञानिक अनुसन्धान र परमाणु सम्झौताअन्तर्गतको सीमित कार्यका लागि प्रयोग भइरहेका थिए।
युद्धको जोखिमपूर्ण स्थितिमा पुगेको पश्चिम एसिया अहिले थप तनावपूर्ण बनेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायले कसरी प्रतिक्रिया जनाउने हो भन्ने कुराले अवस्था थप स्पष्ट पार्नेछ।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आज बिहान आफ्नो कार्यालयको मञ्चमा उभिँदा उनले सुरुमा हिब्रु भाषामा आफ्ना नागरिकलाई सम्बोधन गरेनन्। बरु उनले अंग्रेजीमा बोले, सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै बधाई दिए। अमेरिकाले इरानका तीन प्रमुख आणविकस्थलहरूमा हवाई आक्रमण गरेकोमा उनले बधाई दिएका हुन्।
नेतन्याहुले विगत १५ वर्ष अमेरिकालाई यो कुरा मनाउन खर्चिएको समेत बताए। इरानको आणविक कार्यक्रम नष्ट गर्न सैन्य कारबाहीमात्र विकल्प भएको बताउँदै त्यो पनि अमेरिकी हातबाट मात्रै सम्भव भएको समेत उनले बताएका छन्।