आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

बाँदर आतंकले ‘जापानी कटुसखेती’तर्फ किसान आकर्षित, पर्वतमा एक सय ४० रोपनीमा लगाइयो

images
आइतबार, असार ८ २०८२
images
images
बाँदर आतंकले ‘जापानी कटुसखेती’तर्फ किसान आकर्षित, पर्वतमा एक सय ४० रोपनीमा लगाइयो

उनका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जंगली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ।

images
images

पर्वत- जनशक्ति अभाव र बाँदर आतंकले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ। पर्वतको कुश्मा नगरपालिका-१२ ठुली पोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो।

images
images
images

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलोपटक मेकाडेमिया नटखेती सुरु गरिएको छ। उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ। यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ।

images
images

आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै ४६ लाख लगानी गरेर खेती विस्तार गरिएको हो। यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले २३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायत कार्य गर्न उक्त रकम खर्च भएको छ। यस वर्ष लगाइएको मेकाडेनिया नटले चार वर्षदेखि फल दिन सुरु गर्नेछ।

images
images
images

दुई वर्षमै सामान्य रूपमा फल लाग्न सुरु भएपनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जंगली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ।

समुद्री सतहदेखि एक हजार ६ सय मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले अहिले ठुलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताउँछन्। मेकाडेमिया नटलाई बदामजस्तै काँचै फुटाएर खान सकिने र यसबाट खानेतेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिने उनको भनाइ छ। यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुने उनले बताए। मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्छ।

बाँदरले खान नसक्ने भएकाले बढी बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उनको भनाइ छ। बढ्दो बाँदर आतंकले खेतबारी बाँझै रहने क्रम वर्षेनी बढेका बेला फलफूलखेती विस्तार गरे किसानको आम्दानी बढाउन सकिने सचिव रेग्मीले बताउँछन्। पर्वतमा पहिलोपटक विस्तार गर्न थालिएको मेकाडेमिया नटखेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले शनिबार वृक्षरोपण गरेर शुभारम्भ गरेकी हुन्।

सो अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताइन्। बढ्दो युवा पलायन, बाँदर आतंक, जनशक्तिको अभाव भएकाले एकपटक मेहनत र लगानी गरेर वर्षौँसम्म फाइदा हुने खालको खेतीबाली लगाउनतर्फ किसानलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवरलगायतले जिल्लाका अन्य क्षेत्रमा पनि मेकाडेमिया नटखेतीसँगै भौगोलिक आधारमा उत्पादनको सम्भावना भएका फलफूल विस्तारमा जोड दिइने बताए। यसअघि गत वर्षदेखि महाशिला गाउँपालिकाले पनि सात सय बिरुवा मेकाडेमिया नट फलका बिरुवा लगाएर व्यावसायिक रूपमा खेती सुरु गरेको थियो। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend