बागलुङ- बागलुङको बडिगाड गाउँपालिका-३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो। तर, अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन। गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्।
स्थानीयको खानेपानी समस्या समाधानका लागि वि.सं. २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो। योजनाको दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो।
तर, त्यो योजना १५ वर्ष पुग्दासम्म पनि अधुरै छ। स्थानीयले दैनिक खानेपानीका लागि लाइनमा बस्नु पर्ने बाध्यता छ। सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा कामा ढिलासुस्ती भएको हो। वि.सं. २०७२ मा संघीयता आएपछि उक्त खानेपानी योजना सशर्त कार्यक्रमअन्तर्गत संघ सरकारबाट प्रदेश सरकारको जिम्मेवारीमा आएको छ।
प्रदेश सरकारले उक्त आयोजनालाई पुनः डिजाइन गरेर काम गर्दै आएको छ। पहिले निर्माण भएको रिजर्भ ट्यांकी र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन्। यहाँको झण्डै एकसय घरधुरीको घर घरमा धारा निर्माण भएका छन्। घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।
सिसाखानीको बाघखोरमा रिजर्भ ट्यांकी निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए। एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्यांकी निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ।
‘यहाँ खानेपानी आयोजना सुरू भएको धेरै भयो तर अहिलेसम्म सम्पन्न नहुँदा हामीहरूले खानेपानीको सक बेहोर्नुपरेको छ। आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, कहिले १० लाख बजेट आउँछ’ अध्यक्ष पुन भन्छन्, ‘त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ।’
करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुनकाे भनाइ छ। ट्यांकीसँगै वडा कार्यालय, विद्यालयलगायत स्थानमा सार्वजनिक धारा र केही घरमा निजी धारा निर्माणको काम पनि बाँकी छ।वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि नागरिक पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताए।
अहिले बस्तीभन्दा झण्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्यांकीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्यांकीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ। बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको उनले जानकारी दिए। खानेपानी पर्याप्त नहुँदा सरसफाइ गर्न, वस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले अहिले अस्थायी रूपमा यहाँका स्थानीयलाई पानी खुवाउने व्यवस्था मिलाएको बताए। आगामी वर्ष अर्को ट्यांकी निर्माण गरेपछि हरेक घरमा पानी पुर्याउने उनकाे दाबी छ। अपर्याप्त बजेटका कारण धेरै योजना सम्पन्न गर्न नसकिएको सूचना अधिकारी सागरले सुनाए। रासस