काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका-४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण कार्यक्रममा उनलेयस्ताे बताएका हुन्।
काठमाडौंवासीले अब सधैँभरि पानी पाउने मन्त्री यादवकाे भनाइ छ। साथै मेलम्चीको पानी दैनिक आपूर्ति गरिने पनि उनले बताए। मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पुर्याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उनकाे दाबी छ। काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए।
उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ५, बूढानीलकण्ठ नगरपालिका, र केयूकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो।
त्यस अवसरमा बागमती प्रदेश खानेपानी तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नम्बर ४ का अध्यक्ष राम केसी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत उपपिस्थत थिए। रासस