शुक्रबार, असार ६ गते २०८२    
शुक्रबार, असार ६ २०८२
images
images

बालुवा चाल्दै जीवन धान्दै कन्चनपुरको खल्लागोठवासी

images
शुक्रबार, असार ६ २०८२
images
images
बालुवा चाल्दै जीवन धान्दै कन्चनपुरको खल्लागोठवासी

उनीहरु बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउँछन्। गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ। दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन्। एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ।

images
images

कन्चनपुर- गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका-२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन्। हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने कार्य गर्छन्।

images
images
images

उनीहरु बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउँछन्। गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ। दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन्। एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ।

images
images

उनी भन्छन्, ‘नदी नै एकमात्र बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ, पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन मुस्किल हुन्थ्यो, बालुवा चाल्न थालेपछि भारत जान छाडेँ, अहिले थोरै कमाउँछु, तर परिवारसँगको सुखदुःखमा साथमा छु।’

images
images
images

चारपाँच दिनमा एक ट्रली बालुवा त्यही परिणामा गिट्टी संकलन हुँदा दुई हजारदेखि तीन हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए। महिनामा १२ देखि १५ हजार रुपैयाँसम्मको कमाइ हुने गरेको छ। गिरी दम्पतीसँग गाउँमा घरबाससँगै थोरै कमाइखाने जग्गा पनि छ। त्यो जग्गामा लगाएको अन्नले ६ महिना पनि धान्दैन। उनीहरु बालुवा, गिट्टी बेचेर आएको कमाइले घरको नुनतेल, लत्ताकपडा र अन्नको जोहो मिलाउँछन्।

भीमजस्तै खल्लागोठ गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्दै आएका छन्। बिहान बालुवा चाल्दै सुरु हुने दैनिकी बेलुका थकाइसँगै बन्द हुने गरेको उनले सुनाए। आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्दै आएको छ। ‘बालबालिका छाडेर घरका अरु सबै जना बालुवा, गिट्टी चाल्ने कार्य गर्छौँ, महिनामा २०-२५ हजार रुपैयाँ कमाइ हुन्।, त्यही रकमबाट घरायसी खर्च धान्ने गर्दर्छौँ’ उनले भने।

नदीमा ठेक्का छिटो खुलेपछि धेरै दिनसम्म बालुवा, गिट्टी चाल्न पाइने गरेको उल्लेख गर्दै उनले ढिलो गरी ठेक्का खुले बालुवा, गिट्टी चाल्ने कार्य नहुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए। नदीमा असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्दै आएका छन्। असारदेखि भदौसम्मको बर्खायाममा नदीजन्य पदार्थ संकलन उत्खनन् गर्न पाइदैन।

उक्त समयमा काम खोज्दै हिँड्नुपर्ने अवस्था रहेको न्यौटी नाथले गुनासाे गरे। खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ। गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गर्छन्। गाउँका बासिन्दासँग थोरैमात्र जग्गा छ। त्यो पनि उब्जाउ नहुँदा बाध्यताले नदीमा बालुवा चाल्नुपरेको हाे। जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याउने धनबहादुर विक बताउँछन्।

‘असारदेखि नै पानी दर्किन सुरू भएपछि नदीको बाढी गाउँभित्र पस्ने भएकाले तीन महिना अवधि त्रासमा बाँच्नुपर्ने हुन्छ’ उनी भन्छन्, ‘नदीजन्य पदार्थ उत्खननको प्रत्येक वर्ष ठेक्का लाग्ने भएकाले त्यसको केही हिस्सा नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउनमा खर्च गर्नुपर्ने हो, त्यसका लागि आवाज उठाउँदै आए पनि सुनवाइ हुँदैन।’

उनका अनुसार सो गाउँका ४५ घर बाढीको जोखिममा छन्। खल्लागोठका स्थानीय बासिन्दा नदी र बस्तीलाई असर नपर्ने गरी बालुवा, गिट्टी उत्खनन गर्दै आएको बताउँछन्। स्थानीय भन्छन्, ‘नदीलाई शत्रु होइन, सहयात्री ठान्छौँ, यसले जीवन जिउने आधार दिएको छ।’ पहिला पहाडबाट तराई झर्नेहरूले खल्ला (पानी जम्ने ठाउँ) मा गोठ राख्ने भएकाले त्यस ठाउँलाई पछि खल्लागोठ भन्ने गरिएको हाे। स्थानीयले बालुवा चाल्ने कार्यसँगै बाख्रापालनबाट अतिरिक्त आम्दानी गर्छन्। रासस 


प्रकाशित : शुक्रबार, असार ६ २०८२११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend