शनिबार, असोज ५ गते २०८१    
images
images

साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत

images
मंगलबार, फागुन ३ २०७८
images
images
साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत

केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएपछि मानेभञ्ज्यामा गाउँपालिकाकै लगानीमा अल्लो प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। 

images
images

खोटाङ- साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ। दुई हजार ३३५ घरधुरी रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पोलसहितको केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको हो।

images
images
images

विद्युत विस्तार गर्न बाँकी पाँच प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए। 'गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तारको काम धमाधम भइरहेको छ', उनले भने, 'अबको केही महिनाभित्रै गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरेर उज्यालो गाउँपालिका घोषणा गर्ने योजनामा छौँ।'

जिल्लाकै सबैभन्दा सानो पाँचवटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएपछि घरेलु उद्योगहरूसमेत धमाधम खुल्न थालेका छन्। केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएपछि मानेभञ्ज्यामा गाउँपालिकाकै लगानीमा अल्लो प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। 

लामो समयसम्म कुप्पी (मट्टितेल प्रयोग गरेर बालिने बत्ती) तथा सोलार टुकीको भरमा उज्ज्यालो उपभोग गर्दै आएका स्थानीय बासिन्दा गाउँपालिकाको पहलमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएपछि हर्षित भएका छन्। 

images

साकेला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्न गाउँपालिकाको एक करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले जानकारी दिए। बाँकी पाँच प्रतिशत उपभोक्ताका लागि विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युतीकरण गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ। 

दश स्थानीय तह रहेको जिल्लाका अन्य सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार भएको पाइएको छ। केन्द्रीय प्रसारण लाइनका विद्युत नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत तथा सोलार बत्ती खपत भइरहेको छ। जिल्लाका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादित १०.६ मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन्। साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी जिल्लामा उत्पादित १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो।

जिल्लामा अहिले बढीमा तीन मेगावाट मात्र विद्युत खपत भइरहेको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए। 'जिल्लामा अहिले २० हजार ७८९ विद्युत उपभोक्ता रहेका छन्', उनले भने, 'जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन। अबको केही वर्षभित्रै जिल्लाका हरेक स्थानीय उपभोक्ताको घरमा पुर्‍याउने गरी विद्युत विस्तारको काम भइरहेको छ।'

जिल्लाका अधिकांश स्थानीय बासिन्दा आफ्नै लगानीमा उत्पादित हाइड्रोपावरको विद्युत उपभोग गर्दै आएका छन्। जिल्लामा सञ्चालित दर्जन बढी हाइड्रोपावरलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने प्रयासमेत भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ। तत्कालीन जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति)ले पाँच वर्षभित्र खोटाङलाई उज्यालो जिल्ला बनाउने उद्देश्यले आवधिक योजना बनाएको थियो। स्वीस सरकारको सहयोगमा निर्माण गरिएको उक्त आवधिक योजनाअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा हाइड्रोपावर सञ्चालन गरिएको हो। रासस 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend