बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

‘हिमालयन क्रिस्प’मार्फत नेपालमै पहिलो फ्रेन्च फ्राई उद्योग, २ अर्ब लगानीमा व्यावसायिक सुरुवात

शुक्रबार, असार ६ २०८२
‘हिमालयन क्रिस्प’मार्फत नेपालमै पहिलो फ्रेन्च फ्राई उद्योग, २ अर्ब लगानीमा व्यावसायिक सुरुवात

नेपालको प्रशोधन खाद्य उद्योगमा ‘फर्स्ट च्वाइस फुड्स प्रालि’ले ‘हिमालयन क्रिस्प’ ब्रान्डमार्फत नेपालमै पहिलोपटक फ्रेन्च फ्राईको व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको छ।

काठमाडौं- नेपालको प्रशोधन खाद्य उद्योगमा ‘फर्स्ट च्वाइस फुड्स प्रालि’ले ‘हिमालयन क्रिस्प’ ब्रान्डमार्फत नेपालमै पहिलोपटक फ्रेन्च फ्राईको व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको छ।

कम्पनीले बिहीबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक कार्यक्रममा आफ्ना उत्पादनहरू घोषणा गर्दै फ्रेन्च फ्राईसँगै आलुजन्य अन्य उत्पादनहरूको विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको हो। 

रूपन्देहीको शुद्धोधन-४ मैनहियामा अवस्थित यस उद्योगको  लगानी करिब दुई अर्ब रुपैयाँ रहेकोसमेत जानकारी दिइएको छ। जसमा निजी क्षेत्र, प्राइभेट इक्विटी तथा बैंकको लगानी रहेको छ। करिब पाँच बिगाहा क्षेत्रफलमा फैलिएको ६० हजार वर्गफिट क्षमताको आधुनिक प्रशोधन उद्योगमा एक घण्टामा दुई टन फ्रेन्च फ्राई उत्पादन गर्न सक्ने युरोपियन प्रविधियुक्त संयन्त्र जडान गरिएको कम्पनीले जनाएको छ।

फर्स्ट च्वाइस फुड्सका कार्यकारी अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा माग बढ्दो अवस्थामा रहँदासमेत फ्रेन्च फ्राईको सम्पूर्ण आपूर्ति आयातबाट हुने अवस्थालाई निरुत्साहित गर्ने योजनासहित स्वदेशमै उत्पादन सुरु गरिएको बताए। उनका अनुसार कम्पनीले पहिले नै भारतको उत्तराखण्डमा मासिक चारदेखि पाँच कन्टेनरसम्म फ्रेन्च फ्राई निर्यात गरिरहेको छ भने उत्तर प्रदेशलगायत अन्य भारतीय बजारमा पनि विस्तारको तयारी भइरहेको छ।

himalayan 3.jpeg

कम्पनीले निकट भविष्यमा अमेरिका, मलेसिया, दुबई र साउदी अरेबियालगायतका तेस्रो मुलुकहरूमा पनि निर्यात सुरु गर्ने रणनीति सार्वजनिक गरेको छ। हाल कम्पनीले अमेरिका खाद्य तथा औषधि प्रशासनमf दर्ता प्रक्रिया पूरा गरिसकेको तथा बीआरसीजीएस जस्ता कडा गुणस्तरीय प्रमाणीकरणहरू प्राप्त गरिसकेको उनले बताए।

यस उद्योगसँग देशका विभिन्न १९ जिल्लाका किसान प्रत्यक्ष आबद्ध छन्। कम्पनीले किसानहरूलाई बीउ, मल, तालिम लगायतका सहयोग उपलब्ध गराउँदै आएको छ। उत्पादन भएको आलु खेतमैबाट खरीद गर्ने व्यवस्था गरेको छ। चालु वर्षमा मात्र कम्पनीले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट खरिद गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

himalayan 8.jpeg

'कम्पनीले कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, बर्दिया, कपिलवस्तु, मकवानपुर, नवलपुर, सिन्धुली, काभ्रेपालाञ्चोक लगायत जिल्लामा आलु उत्पादनमा वैज्ञानिक अनुसन्धान र प्रविधि विस्तारका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ', अध्यक्ष पौडेलले भने। हाल उद्योगले प्रत्यक्षरूपमा १०० जनाभन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।

हिमालयन क्रिस्प ब्रान्डका फ्रेन्च फ्राईहरू अहिले भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सेल्सबेरी, द बर्गर हाउस, क्रन्ची फ्राइड चिकेन जस्ता खुद्रा बजार तथा रेष्टुराँ चेनहरूमार्फत उपभोक्तामाझ उपलब्ध गराइएको छ। कम्पनीका अनुसार हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, ईटहरी, दाङ, नेपालगन्जलगायतका मुख्य सहरहरूमा ५ वटा डिष्ट्रिब्युटर, १२ चेन रेष्टुराँ, १५० सप्लायर्स तथा ४ सयभन्दा बढी रेष्टुराँहरूमार्फत उत्पादन विस्तार गरिएको छ।

कम्पनीले निकट भविष्यमा आलुबाट बन्ने टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन, आलु वेजेस बजारमा ल्याउने योजना अघि सारेको छ। यसका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति स्थायित्व, प्रविधि विकास र मानव स्रोत निर्माणमा थप लगानी गरिने समेत अध्यक्ष पौडेलले जानकारी दिए।

गुणस्तरहीन, अनियन्त्रित आयात तथा कतिपय अवस्थामा अवैध रूपमा भित्रिने फ्रेन्च फ्राईहरूले स्वदेशी उद्योगमाथि गम्भीर चुनौती सिर्जना गर्नसक्ने बताउँदै कम्पनीले नीतिगत सहयोगको अपेक्षा गरेको समेत अध्यक्ष पौडेलले बताए।

himalayan 2.jpeg

कम्पनीले गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै 'मेड इन नेपाल' ब्रान्डलाई विश्वस्तरीय बनाउन आफूहरू दृढ रहेको अध्यक्ष पौडेलले बताए।

कम्पनीका अनुसार फ्रोजन पोटेटो प्रशोधन प्रविधिमा दक्ष जनशक्ति विकासमा लगानी सुरु गरिएको छ। जसले दीर्घकालमा नेपाललाई कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा आत्मनिर्भर बनाउन टेवा पुर्‍याउने विश्वाससमेत कम्पनीले लिएको छ।


प्रकाशित : शुक्रबार, असार ६ २०८२१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend