सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

सञ्चालकले सेयर बिक्री गर्न नपाउने प्रावधान अव्यावहारिक : निर्जीवन बीमा व्यवसायी संघ

बिहीबार , असार ५ २०८२
सञ्चालकले सेयर बिक्री गर्न नपाउने प्रावधान अव्यावहारिक : निर्जीवन बीमा व्यवसायी संघ

संघले सेयर खरिदबिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले वैदेशिक लगानी प्रवाहमा समेत अवरोध पुर्‍याउने उल्लेख गर्दै धितोपत्र बोर्ड, बीमा प्राधिकरणलगायत सरोकार निकायको ध्यानाकर्षण गराएको छ।

काठमाडौं- नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुले राजीनामा दिएको एक वर्षसम्म कम्पनीको सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक भएको भन्दै उक्त प्रावधान संशोधन गर्न आग्रह गरेको छ।

संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८(१ क) अन्तर्गतको व्यवस्था लगानीकर्ताका अधिकारविपरीत रहेको उल्लेख गरेको हो। संघले सेयर बिक्रीसम्बन्धी यस्तो नीतिले व्यवसायको विविधीकरण, घरायसी आवश्यकता र लगानीको स्वतन्त्रतामै प्रतिकूल असर पर्ने तर्क गरेको छ।

'सञ्चालक पनि अन्य सेयरधनी सरहका लगानीकर्ता हुन्,' संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले भने, 'उनीहरूलाई आफ्नो स्वामित्वको सेयर प्रयोग गर्नबाट रोक्नु न्यायोचित हुँदैन।'

संघले सेयर खरिदबिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले वैदेशिक लगानी प्रवाहमा समेत अवरोध पुर्‍याउने उल्लेख गर्दै धितोपत्र बोर्ड, बीमा प्राधिकरणलगायत सरोकार निकायको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, 'सञ्चालक पदमा बहाल रहँदा नियामक निकायलाई जानकारी दिएर आफ्नो स्वामित्वको ५० प्रतिशत सेयर बिक्री गर्न दिने प्रावधान ल्याउन अनुरोध गर्दछौँ।' संघले यस्तो संशोधनले लगानीमैत्री वातावरण सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रकाशित : बिहीबार , असार ५ २०८२१५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend