काठमाडौं- सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको विशेषतासहितको रंगशाला निर्माण गर्ने भएको छ।
रंगशाला निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।
रिपोर्टमा रंगशाला निर्माणका १५ अर्ब रुपैयाँ खर्च लाग्ने उल्लेख छ। रंगशालाको क्षमता ५० हजार सिट क्षमताको हुनेसमेत रिपोर्टमा उल्लेख छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा २५.४८ हेक्टर क्षेत्रफलमा रंगशाला निर्माण हुने छ।
प्रस्तावित आयोजनामा आवागमन-बहिर्गमन मूलद्वारसहितको सीमा पर्खाल, स्वचालित टिकट घर, पाले घर र सम्पूर्ण भौतिक संरचनाले सुविधासम्पन्न हुने छ। ५० हजार जना दर्शक क्षमताको प्याराफिटसहितको मूल क्रिकेट मैदान निर्माण हुने रिपोर्टमा उल्लेख छ।
यसैगरी प्राक्टिस पिच, प्राक्टिस फिल्ड, कभर्डहल, फुटबल मैदान, एथ्लेटिक ट्रर्याक, पौडी पोखरी, हरियाली बगैँचा, पार्किङ क्षेत्रलगायतका संरचनासमेत निर्माण हुने उल्लेख छ।
साथै प्रस्तावित परियोजनाअन्तर्गत कर्मचारी, निर्देशक, खेलाडी आवास गृह, खेल संग्रहालय, प्रशासनिक भवन, व्यापारिक भवन, बहुतले पार्किङ, खेलकुद स्कूलको साथमा सम्पूर्ण भौतिक संरचनाहरुलाई आवश्यक हुने विद्युत, खानेपानी र सरसफाइका लागि आवश्यक संरचना निर्माण हुने रिपोर्टमा उल्लेख छ। रंगशाला निर्माण पाँच वर्षमा सम्पन्न हुने जनाइएको छ।