काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा देशभर ५६ हजार १० वटा घरजग्गा कारोबार भएको छ। यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ५ हजार कम हो। गत वर्षको जेठमा ६१ हजार १ सय ६१ वटा लिखत पास भएको थियो।
गएको बैशाखको तुलनामा भने जेठमा कारोबार केही वृद्धि भएको देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बैशाखमा ५२ हजार ४ सय २३ वटा घरजग्गा कारोबार भएको थियो।
बैशाखमा ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएकोमा जेठमा ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ संकलन भएको छ। कारोबारको संख्यामा सुधार देखिए पनि राजस्व संकलन घट्नुले मूल्यमा गिरावट हुन थालेको अनुमान गरिएको छ।
बैंक ब्याजदर एकल अंकमा झरे पनि बजारमा लगानीकर्ताहरू 'पर्ख र हेर'को रणनीतिमा रहेको देखिएका छन्। निक्षेप पर्याप्त रहे पनि कर्जाको माग कमजोर हुँदा लगानी प्रवाह सुस्त भएको हो। सस्तो ब्याजदरले कारोबारलाई चलायमान बनाउने अपेक्षा गरिए पनि हालसम्म त्यो प्रभाव देखिएको छैन।
गएको चैत महिनामा ४९ हजार ८ सय ३२ वटा लिखत पास हुँदा केही सुधारको संकेत देखिएको थियो। फागुनमा ४६ हजार ६१ र माघमा ४६ हजार ६९ कारोबार मात्रै भएका थिए। त्यसअघि पुस महिनामा ४८ हजार १ सय ५६ लिखत पास भएको थियो, जुन चालु आवको सबैभन्दा बढी कारोबार भएको समय थियो।
गएको चैतमा ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन हुँदा पनि त्यसपछिका महिनामा संकलन घटेको छ। फागुनमा ४ अर्ब १२ करोड र माघमा ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व उठेको थियो।
विभागका तथ्यांक अनुसार चालु आवको पहिलो सात महिनामा मासिक औसत ३ अर्ब ५० करोडदेखि ४ अर्बबीच राजस्व संकलन भएको थियो। साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख, मंसिरमा ३ अर्ब ८७ करोड र पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।
घरजग्गा कारोबारप्रति लगानीकर्ताको झुकाव घट्नुको अर्को कारण सरकारको नियमन नीति पनि रहेको व्यवसायीहरू बताउँछन्। सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न जेठ १३ गते जारी गरेको निर्देशनले घरजग्गा कारोबारमा कडाइ गर्ने संकेत दिएको थियो।
यद्यपि विभागले उक्त निर्देशनलाई संशोधन गर्दै जेठ २३ गते ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२’ मा नयाँ व्यवस्था सार्वजनिक गरेको छ।