काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौं महानगरपालिका-१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन्।
पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौं महानगरपालिका-१६ बाट र ओमबहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
त्यसैगरी ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ। उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौं महानरपालिका-१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सीबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। रासस