काठमाडौं- प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भइ आजदेखि सञ्चालन भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न माग गरेका छन्।
बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध गरिरहेका थिए। त्यसलगत्तै सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए।
विपक्षी दलका प्रमुख सचेतक पाण्डेले यही जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका बेथिति, भ्रष्टाचार, मानव तस्करी र विकृतिका विषयमा निरन्तर आवाज उठाउँदै आएको र त्यसको छानबिन गर्न माग गरे।
'अध्यागमन कार्यालय र भिजिट भिसाको विषयमा नीतिगत, कानूनी र संरचनागत सुधार गरी बदमासी गर्नेलाई उचित कारबाही गर्न अध्ययन छानबिन समिति गठन गर्न सरकारसँग माग गर्छु', उनले भने, 'अध्यागमन र भिजिट भिसा आमजनताको समस्याका रूपमा आएको छ, यसलाई निराकरण गरेर अघि बढ्ने मूल विषय हो, जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न जरुरी छ।'
सांसद पाण्डेले विपक्षीले राखेका सवाललाई नेपाल सरकारले विश्वस्त हुनेगरी सदनमा र व्यवहारमा देखाउने विश्वासका साथ सदनलाई सञ्चालन गर्ने सहमति गरेको जानकारी दिए। 'आफ्नो रोजगारीको समस्याका कारण विदेश जान लागेका नेपाली दिदीबहिनी दाजुभाइहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत सरकारी कार्यालयबाट गैरकानूनीरुपमा मिलेमतो गरेको देखियो', सांसद पाण्डेले भने, 'भिजिट भिसामार्फत मानव तस्करीजस्ता गम्भीर विषय सार्वजनिक भएको छ, यसले देशको छविमा गम्भीर असर परेको छ।'
सांसद पाण्डेले अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारी कर्मचारी, ट्राभल ऐजेन्सी, म्यानपावर कम्पनी र एयरलायन्स आदिबारे सत्यतथ्य पत्ता लगाइ दोषीउपर कडा कानूनी कारबाही गर्न माग गरे। रासस