काठमाडौं- गुजरातको अहमदाबादस्थित विमानस्थलबाट लन्डनतर्फ उडेको एयर इन्डियाको ड्रिमलाइनर विमान एआई-१७१ उडान भरेको केही समयमै दुर्घटनामा पर्दा २६५ जनाको ज्यान गयो। तर उक्त विमानमा सवार २४२ यात्रु र क्रू सदस्यमध्ये केवल एक व्यक्ति, बेलायतको लेस्टर निवासी रमेश विश्वासलाई भने जीवितै उद्धार गरिएको छ।
२४२ जना सवार जहाजमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए। यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानडियन नागरिक हुन्। जहाज मेघानीनगरस्थित घना बस्ती क्षेत्रमा ठूलो आवाजसहित खसेको थियो। जहाज चिकित्सक आवासमा खसेका कारण अहिलेसम्म २६५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतीय सञ्चार माध्यम आजतकसँगको कुराकानीमा विश्वासका दाजु नयनले भने, ‘हामीले रमेशसँग कुराकानी गरेका थियौँ। उनी अहिले अस्पतालमा छन्, होसमा छन् र बोल्न सक्ने अवस्थामा छन्। तर उनलाई थाहा छैन कि के भयो। उनी बारम्बार भन्छन्- मलाई थाहा छैन म कसरी बाँचेँ।’
एयर इन्डियाको लन्डनतर्फ उडेको ड्रिमलाइनर बोइङ ७८७ जहाज गुजरातको अहमदाबादबाट उडेपछि केही मिनेटमै दुर्घटनाग्रस्त भएको घटनाले भारतदेखि बेलायतसम्म शोकमग्न छ। २४२ जना यात्रु सवार उक्त जहाजमा एक मात्र व्यक्ति जिउँदै बाँच्न सफल भएका हुन्।
विश्वासका परिवार, छिमेकी र साथीभाइहरू अहिले गहिरो पीडामा छन्। रमेशको साथमा उही विमानमा उनका दाजु अजय पनि थिए। तर अजयको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।
परिवारका सदस्यहरू अहिले बेलायतबाट भारत फर्कने तयारीमा छन्। 'हामी अझै पर्खिरहेका छौँ, अजयको बारेमा कुनै खबर पाइन्छ कि भनेर। जहाजमा उडेको केही मिनेटमै यस्तो भयावह घटना हुन्छ भन्ने त कहिल्यै सोचेका थिएनौँ,' नयनले भावुक हुँदै भने।
विश्वास परिवारका अनुसार घटनापछि अस्पतालले प्राथमिक उपचार गरिरहेको छ, तर उनलाई मानसिक आघात पनि भएको छ। ‘शरीरमा खासै चोट छैन, तर उनी निकै गम्भीर मानसिक तनावमा छन्,’ नयनले भने।
विश्वास जीवित फर्कनु आश्चर्यजनक भए पनि उनका दाजु अजयको बारेमा कुनै जानकारी नहुनु अर्को ठूलो पीडा बनेको छ परिवारका लागि। आमा-बुबा, पत्नी र सारा गाउँ नै अहिले यो घटनाले स्तब्ध छन्। ‘एक छोरा बाँच्यो तर अर्को कहाँ छ? हामीलाई बस एक खबरको पर्खाइ छ,’ नयनले भने।
सुरक्षित मानिएको बोइङ ड्रिमलाइनरको अहमदाबादमा पहिलो भयानक दुर्घटनाले उठायो प्रश्न
एयर इन्डियाको ड्रिमलाइनर विमान अहमदाबादमा दुर्घटना, ठूलो क्षतिको अनुमान