शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

सुरक्षित मानिएको बोइङ ड्रिमलाइनरको अहमदाबादमा पहिलो भयानक दुर्घटनाले उठायो प्रश्न

images
बिहीबार , जेठ २९ २०८२
images
images
सुरक्षित मानिएको बोइङ ड्रिमलाइनरको अहमदाबादमा पहिलो भयानक दुर्घटनाले उठायो प्रश्न

अनुसन्धानपछि मात्रै ड्रिमलाइनर प्रविधिमा गम्भीर त्रुटि थियो वा यो कुनै आकस्मिक दुर्घटनामात्रै हो भन्ने प्रस्ट हुनेछ।

images
images

काठमाडौं- एयर इन्डियाको लण्डनतर्फ नियमित उडान भर्ने उडान नम्बर एआई १७१ आज दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको दुई मिनेटकै बीचमा दुर्घटनामा परेको छ। बोइङ ७८७-८ ड्रिमलाइनर विमान मेघानीनगरस्थित विमानस्थल नजिकैको चिकित्सक होस्टल क्षेत्रमा खसेको हो।

images
images
images

बिहीबार दिउँसो १:३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट उडान भरेको केही सेकेन्डमै दुर्घटनामा पर्‍यो। विमान ६२५ फिटको उचाइमै पुगेलगत्तै एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई आपतकालीन सन्देश आएको थियो, तर त्यसपछि जहाजसँगको सम्पर्क पूर्णरूपमा विच्छेद भयो।

images
images

प्रत्यक्षदर्शीका अनुसार, टेकअफपश्चात् विमान एकाएक असन्तुलित देखियो। आकाशमै डगमगाएको विमान केही सेकेन्डमै विमानस्थलको परिधिबाट बाहिर निस्केर मेघानीनगरस्थित घना बस्ती क्षेत्रमा ठूलो आवाजसहित खसेको थियो। त्यसक्रममा भएको विस्फोटले तत्कालै आगलागी भयो। दुर्घटनास्थलबाट कालो धुवाँको मुस्लो उठेको थियो। कति मानविय क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन।

images
images
images

२४२ जना सवार जहाजमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए। यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानडियन नागरिक रहेका छन्। प्रारम्भिक रिपोर्टअनुसार गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसमेत यात्रु सूचीमा रहेका छन्, यद्यपि उनको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन।

विमानले लामो दुरीको उडान तय गर्नुपर्ने भएकाले इन्धनको मात्रा धेरै थियो। आगलागी नियन्त्रणमा ल्याउन दमकल टोली, राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), प्रहरी र स्थानीय उद्धारकर्मीहरू परिचालन गरिएका छन्। दुर्घटनापछि अहमदाबाद विमानस्थलबाट सबै उडानहरू तत्कालका लागि स्थगित गरिएको छ।

air indian 222.png

एक दशकभन्दा धेरै सुरक्षित मानिएको जहाजको पहिलो दुर्घटना

दशकभन्दा बढी समयसम्म सुरक्षित र सफल उडानका लागि परिचित ड्रिमलाइनर सिरिजका लागि यो दुर्घटना गम्भीर चुनौती बनेको छ। अनुसन्धानपछि मात्रै ड्रिमलाइनर प्रविधिमा गम्भीर त्रुटि थियो वा यो कुनै आकस्मिक दुर्घटनामात्रै हो भन्ने प्रस्ट हुनेछ।

विश्वभर चर्चित बोइङ ७८७ ड्रिमलाइनर विमानमाथि प्रश्न उठ्न थालेका छन्। विमानस्थलनजिकै मेघानीनगरस्थित चिकित्सक छात्रावास क्षेत्रमा विमान ठोक्किँदा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। प्रारम्भिक विवरणअनुसार, यो बोइङ ७८७ सिरिजको पहिलो यस्तो दुर्घटना हो, जसमा ठूलो जनधनको क्षति भएको छ।

बोइङ कम्पनीले निर्माण गरेको ७८७ ड्रिमलाइनर विमानले सन् २०११ यता सेवा दिँदै आएको छ। २१औँ शताब्दीको अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यो विमान पहिलोपटक सन् २००७ मा सार्वजनिक गरिएको थियो। त्यसपछि २००९ मा पहिलोपटक उडान सम्पन्न गरेको ड्रिमलाइनर सन् २०११ मा जापानको 'अल निप्पोन एयरवेज' (एएनए) मार्फत व्यावसायिक सेवा सञ्चालनमा आएको थियो।

हालसम्म ७८७ सिरिजका तीन संस्करण ७८७-८ ७८७-९ ७८७-१० मा उत्पादन रहेको छ। ड्रिमलाइनरको यात्रा क्षमता २४० देखि ३३० यात्रु रहेको छ भने यसको उडान दुरी १३ हजार ५ सय किलोमिटरभन्दा माथि छ। यो विमान लामो दुरीका उडानका लागि अत्यन्त लोकप्रिय मानिन्छ।

ड्रिमलाइनरको विशेषता र प्रविधि

ड्रिमलाइनरको मुख्य विशेषता हलुका तर मजबुत कार्बन फाइबर कम्पोजिट संरचना हो, जसले विमानलाई इन्धन दक्ष बनाउँछ। यसमा सामान्य विमानको तुलनामा करिब २० प्रतिशत कम इन्धन खपत हुन्छ। ठूलो झ्याल, उन्नत आर्द्रता नियन्त्रण प्रणाली, कम ध्वनि र दबाबको राम्रो नियन्त्रणका कारण यात्रु अनुभव पनि सहज हुने गरी डिजाइन गरिएको छ। तर यति प्रविधिमैत्री बनेको यो विमान आजसम्म गम्भीर दुर्घटनाबाट जोगिँदै आएको थियो।

ड्रिमलाइनर सेवा सुरु भएको दुई वर्षमै सन् २०१३ मा लिथियम-आयन ब्याट्रीमा समस्या देखिएपछि विश्वभरका सबै विमानहरूलाई अस्थायीरुपमा ‘ग्राउन्डेड’ गर्नुपरेको थियो। जापानको एएनए र जेएएल लगायतका एयरलाइन्समा उडानका बेला ब्याट्री तातेको, आगो लागेको र धुवाँ निस्किएको भन्दै जहाज ‘ग्राउन्डेड’ गरिएको थियो।  बोइङले ब्याट्री प्रणालीमा सुधार गर्दै नियन्त्रण संरचना परिवर्तन गरेपछि मात्रै विमान पुनः आकाशमा फर्किएको थियो। त्यसपश्चात् ड्रिमलाइनर विमानमा कहिलेकाहीँ सामान्य स्तरका प्राविधिक गडबडीहरू देखिए पनि मानवीय क्षति हुने घटना अहिलेसम्म थिएन।

यो दुर्घटनापछि बोइङ ७८७ ड्रिमलाइनर विमानहरूको ‘सुरक्षित रेकर्ड’ समाप्त भएको छ। भारतको नागरिक उड्डयन प्राधिकरण र विमान दुर्घटना अनुसन्धान ब्यूरोले संयुक्त रूपमा घटनाको छानबिन थालेका छन्। बोइङ कम्पनीले पनि अमेरिकी नियामकहरूका साथ प्राविधिक टोली भारत पठाउने तयारी गरेको छ।

एजेन्सीहरूको सहयोगमा तयार पारिएको*


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend