शनिबार, असोज ५ गते २०८१    
images
images

थानकोटमा एक अर्ब रुपैयाँको लगानीमा अस्पताल बन्ने

images
सोमबार, फागुन २ २०७८
images
images
थानकोटमा एक अर्ब रुपैयाँको लगानीमा अस्पताल बन्ने

नगरप्रमुख गिरीले डीपीआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बताए।

images
images

काठमाडाैं- चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ।  यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लू)ले एक अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ। 
 
सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिबीच हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ। सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने छ। नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लूले विस्तृत आयोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।

images
images
images

नगरप्रमुख गिरीले डीपीआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बताए। निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ। यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा  अस्पताललाई उत्कृष्ट बनाइ नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको भनाइ छ। 
 
अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्‍याउने छ। साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्‍याउने अपेक्षा गरिएको छ। 
 
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ। २०७६ वैशाख २८ देखि चन्द्रागिरि-४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ। प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ। अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए।

महामारी नियन्त्रणमा उदाहरणीय प्रयास 

कोभिड-१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो। 'महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो। यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग  पुग्यो।

images

नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौँ, नगरप्रमुख गिरीले भने, 'चारस्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो।  स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग गर्‍यो।  माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिने काम भयो। यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो।' 

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार  नगरपालिकाले एन्टिजेन र पीसीआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पुर्‍याएको छ। हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ।  

महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदानसमेत गरेको थियो। पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ। 

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न चार लाख रुपैयाँ विनियोजनसमेत गरेको छ।  यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ। प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको जानकारी दिए।   

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ। यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ। रासस


प्रकाशित : सोमबार, फागुन २ २०७८०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend