काठमाडौं- बैंककहरूले मर्जरमा जाने एकपछि अर्को चर्चा चलिरहँदा प्रभु बैंक र सेञ्चुरी बैंकबीच पनि मर्जरको छलफल निकै नजिक पुगेको छ। दुवै बैंकका सञ्चालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकहरूले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका छन्।
माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको हो। सम्भवत स्वाप रेसियोमा समेत कुराकानी मिल्न सक्नेगरी छलफल भइरहेको सेञ्चुरी बैंकका एक सञ्चालक सदस्यले जानकारी दिए।
सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभुतिर मर्जर मोडिएको थियो। सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको छ।
मर्जका लागि हिमालयन र सिभिलको चर्चा पनि चलिरहेको छ। यता सनराइज र माछापुच्छ्रे बैंकको पनि मर्जको चर्चा चलिरहेको बेला प्रभु र सेञ्चुरी बैंकले पनि मर्जका लागि स्वाप रेसियोसमेतमा छलफल थालेका छन्। स्वाप रेसियोमा प्रभुसँग १०० बराबर ८८ हुने गरि सेञ्चुरीले माग गरेको छ। तर प्रभुले भने ८५ दिन तयार रहेको बुझिएको छ।
दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। प्रभुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुदनाफा गरेको छ।
सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ।
केही सातामै सेञ्चुरी र प्रभु मर्जरमा कुनै सहमति हुने अनुमान गरिएको छ। सेञ्चुरीले भने १०० को ८८ कित्ता स्वाप रेसयो मागेको छ। हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएपछि यतिबेला धेरै बैंकहरू मर्जमा जानेगरी अनौपचारिक रूपमा तीब्र छलफलमा लागिरहेका छन्।
प्रभु बैंकको आइतबार दोस्रो बजारमा प्रतिकित्ता ३०८.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सेञ्चुरीको भने दोस्रो बजारमा २४० रुपैयाँमा कारोबार भएको छ।