सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

बजार उकालो लाग्दा बजार पुँजीकरण ४३ खर्ब पुग्यो, १० महिनामै सेयर बजारमा ६ सय अंकको सुधार

मंगलबार, जेठ २७ २०८२
बजार उकालो लाग्दा बजार पुँजीकरण ४३ खर्ब पुग्यो, १० महिनामै सेयर बजारमा ६ सय अंकको सुधार

नेप्सेमा सूचीकृत कुल ८ अर्ब ७४ करोड कित्ता सेयरको चुक्ता पुँजी ८ खर्ब ६१ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा धितोपत्र बजारमा लगानीकर्ताको सम्पत्ति झन्डै १२ अर्ब रूपैयाँले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार बैशाख मसान्तसम्म बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रूपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रूपैयाँ मात्र थियो। त्यसअनुसार हालसम्मको अवधिमा बजार पुँजीकरण ११ खर्ब ८९ अर्ब २३ करोड रूपैयाँले वृद्धि भएको छ।

यसै अवधिमा नेप्से परिसूचकसमेत उल्लेखनीयरूपमा उकालो लागेको छ। गत आव बैशाख मसान्तसम्म १,९९८.८९ अंकमा रहेको नेप्से परिसूचक ६२१.३८ अंकले बढेर २,६२०.२७ मा पुगेको छ। यो वृद्धि लगानीकर्ताको आत्मविश्वास तथा बजारमा तरलता विस्तारसँग सम्बन्धित देखिन्छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ। तीमध्ये १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन्। ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका कम्पनीहरू सूचीकृत छन्। गत वर्ष यो संख्या २७२ रहेको थियो।

बजार पुँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको रहेको छ। कुल बजार पुँजीकरणमध्ये ५२.४ प्रतिशत हिस्सा यिनै कम्पनीहरूले ओगटेका छन्। त्यस्तै जलविद्युत कम्पनीहरूको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, व्यापारिक संस्थाको ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.६ प्रतिशत, होटल क्षेत्रको २.७ प्रतिशत र अन्य कम्पनीहरूको १०.१ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ।

नेप्सेमा सूचीकृत कुल ८ अर्ब ७४ करोड कित्ता सेयरको चुक्ता पुँजी ८ खर्ब ६१ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को दश महिनाको अवधिमा ५८ अर्ब ४३ करोड रूपैयाँ बराबरका नयाँ धितोपत्र सूचीकृत भएका छन्। यस अवधिमा २१ अर्ब ८ करोड रूपैयाँ बराबरको बोनस सेयर, २० अर्ब ३८ करोडको साधारण सेयर, ११ अर्ब ६५ करोडको हकप्रद सेयर, १ अर्ब २५ करोडको म्युचुअल फण्ड, १० करोड ६९ लाखको एफपीओ र ३ अर्ब ९६ करोड बराबरका अन्य सेयर सूचीकृत भएका हुन्।

यसैबीच, नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा ३४ अर्ब ५ करोड रूपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्काशनका लागि स्वीकृति दिएको छ। जसअनुसार १३ अर्ब १९ करोड बराबरको हकप्रद सेयर, ११ अर्ब ८० करोडको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोडको डिबेन्चर र २ अर्ब २४ करोडको साधारण सेयर निष्कासनका लागि अनुमति दिइएको हो।


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend